महोत्तरी। बलवा नगरपालिकाको दुई वडामा दादुरा रोगको सङ्क्रमित फेला परेका छन्। बलवा – ९ ध्रुवकुण्ड र बलवा -८ संरचियामा सङ्क्रमण फेला परेको स्वास्थ्य कार्यालयले जनाएको छ।
कार्यालयका खोप फोकल पर्सन रामबाबु यादवले ध्रुवकुण्ड र संरचिया गाउँमा गत साता दादुरा सङ्क्रमित फेला जानकारी दिए।
दुवै बस्तीका बालबालिका ज्वरो आएर धमौरामा अवस्थित स्वास्थ्यचौकीमा जाँचकाक्रममा सो रोग पुष्टि भएको हो। स्वास्थ्यचौकीका इञ्चार्ज सिअहेव सञ्जयकुमार साहले ती बालबालिकाहरुमा लक्षण देखेपछि तत्कालै स्वास्थ्य कार्यालयमा जानकारी गराएका थिए। बालबालिकाहरुको सेरम (दादुरा जाँचको लागि आवश्यक पर्ने रगत) परीक्षणको लागि जनकपुरस्थित प्रयोगशालामा पठाइएको थियो।
सेरम चाँजपछि ती सबै बालबालिकामा पोजेटिभ चिह्नअर्थात् दादुरा रहेको पुष्टि भएको फोकल पर्सन यादवले बताए। दादुरा भएको पुष्टि भएसँगै यही वैशाख १५ गते बलवा नगरपालिकाको सङ्क्रमित बस्तीमा विश्व स्वास्थ्य सङ्गठन धनुषा शाखा, मधेस प्रदेश स्वास्थ्य निर्देशनालय, स्वास्थ्य कार्यालय महोत्तरी, युनिसेफ र बलवा नगरपालिकाको स्वास्थ्य टोलीले संयुक्त रुपमा पुगेर घरघरमा चाँज गरेको छ । यसमा थप बालबालिकामा दादुरा फेला नपरेको फोकल पर्सन यादवले बताए।
सङ्क्रमित बालबालिकाहरुमा दादुरा नियन्त्रणका लक्षणमा आधारित उपचार गरिएको छ। बलवा नगरपालिकाले नगरक्षेत्रका कुनै पनि खोप छुटेका बालबालिकाहरुका लागि यही वैशाख २८, २९ र ३० गते खोप सेवा सञ्चालन गर्ने निर्णय गरेको छ।




