काठमाडौं । देश विभिन्न संकट र संवेदनशील घटनाबाट गुज्रिरहेका बेला सरकारको नेतृत्व तह, विशेषगरी प्रधानमन्त्रीको सार्वजनिक उपस्थिति र अभिव्यक्तिमाथि गम्भीर प्रश्न उठ्न थालेका छन्। आपतकालीन अवस्था होस् वा नीतिगत विवाद, प्रधानमन्त्रीको चुप्पीले राजनीतिक तथा जनस्तरमा असन्तुष्टि बढाउँदै लगेको देखिन्छ। देशको युवा प्रधानमन्त्रीले सार्वजनिक मञ्चमार्फत जवाफ नदिएपछि सो विषयमा समेत चर्को टिक्काटिप्पणी भइरहेको छ । प्राकृतिक विपत्ति, आर्थिक चुनौती, सीमासम्बन्धी संवेदनशील विषय वा सामाजिक तनाव-यी सबै परिस्थितिमा जनताले सरकार प्रमुखबाट स्पष्ट धारणा, दिशा र भरोसा अपेक्षा गर्छन्। तर पछिल्ला घटनाक्रमहरूमा प्रधानमन्त्रीको प्रत्यक्ष सम्बोधन वा स्पष्ट प्रतिक्रिया नआउँदा नेतृत्वको सक्रियतामाथि शंका उब्जिएको छ।
विश्लेषकहरूका अनुसार संकटको बेला मौनता केवल व्यक्तिगत शैली होइन, शासन प्रणालीकै कमजोरीको संकेत हुन सक्छ। नेतृत्वले समयमै धारणा सार्वजनिक नगर्दा सूचना अभाव पैदा हुन्छ, जसले अफवाह, भ्रम र असन्तोषलाई बढावा दिन्छ। अझ, यस्तो मौनता निर्णय प्रक्रियामा ढिलाइ वा जिम्मेवारीबाट पन्छिन खोजिएको संकेतका रूपमा पनि बुझिन सक्छ।
राजनीतिक रूपमा पनि यसको असर गहिरो देखिन थालेको छ। विपक्षी दलहरूले सरकारको निष्क्रियता र नेतृत्वको अनुपस्थितिलाई मुद्दा बनाउँदै आलोचना तीव्र पारेका छन्। सत्ता पक्षभित्रै समेत स्पष्ट संचार र निर्णय क्षमताको अभावबारे असन्तुष्टि देखिन थालेको छ। पछिल्लो समयमा बालेन नेतृत्वको सरकारले व्यवस्थापनविनै विस्थापन प्रक्रिया डोजर आतंङ्क मच्याएको भन्दै चौतर्फी आलोचना भइरहेको हो । प्रधानमन्त्री बालेनले मौन रुपमा नागरिकको कडा आलोचना हुन थालेपछि लिखित जवाफ संचारमाध्यमहरुमा पठाइरहेका छन् । नागरिकलाई बोल्ने र बोलाउने सरकार चाहिएको नागरिकहरुको धारणा छ ।
सरकार प्रमुखको भूमिका केवल नीति निर्माणमा सीमित हुँदैन, संकटका बेला जनतालाई आश्वस्त पार्ने, स्पष्ट मार्गदर्शन दिने र जिम्मेवारी लिने नेतृत्व आवश्यक हुन्छ। तर बारम्बार देखिएको मौनताले यो भूमिकामाथि प्रश्न उठाएको छ। यदि यही प्रवृत्ति कायम रह्यो भने यसले सरकारप्रति जनविश्वास कमजोर पार्ने मात्र होइन, समग्र शासन प्रणालीमै नकारात्मक प्रभाव पार्ने देखिन्छ। त्यसैले, समयमै स्पष्टता, पारदर्शिता र सक्रिय संवादमार्फत नेतृत्वले आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्ने आवश्यकता झन् टड्कारो बन्दै गएको छ। बालेन सार्वजनिक मंचमा बोल्दा धेरै कुरा विवादित हुने र आलोचित हुने प्रवृतिका कारण पनि उनी बोल्न नचाहको अनुमान नागरिकहरुले गर्न थालेका छन् ।




