काठमाडौँ । काठमाडौं महानगरपालिका मेयर बालेन शाहले आइतबार साँझ आफैलाई ट्रोल गरेका छन् । सामाजिक सञ्जालमा आफैँलाई बुढो देखाउने तस्वीर पोस्ट गर्दै बालेनले सर्वोच्च अदालतलाई व्यंग्य गरेका हुन् ।
तस्वीरको क्याप्सनमा ‘नर्भिकको पेसी पर्खिँदै ।’ यो तस्वीरसँगै उनले क्याप्सनमा लेखेका छन्, ‘अल्पकालीन आदेश आएको मुद्दाको पेसी अझै पनि आएन सायद यो कार्यकाल पछि आउँछ कि ।’
बालेनको यो पोस्ट नर्भिक अस्पतालले बनाएको भवन नभत्काउन सर्वोच्च अदालतले दिएको अल्पकालीन अन्तरिम आदेशसँग सम्बन्धित रहेको छ ।
नक्सा पास नगरी नर्भिक इन्टरनेसन अस्पतालले थापाथलीमा बनाएको भवन संरचना महानगरले भत्काउने तयारी गरिरहेका बेला सर्वोच्चले अल्पकालीन आदेशमार्फत रोकेको थियो । अल्पकालीन आदेश आएको एक साताभन्दा बढी हुदा पनि यो मुद्दा पेसीमा नचढेपछि बालेनले यो पोष्ट गरेका छन् ।
यसअघि साउन २५ गते सर्वोच्च अदालतले अल्पकालीन आदेश दिएपछि बालेनले सर्वोच्चको आदेशप्रति सामाजिक संजालमा असन्तुष्टि व्यक्त गरेका थिए ।
उनले लेखेका थिए- ‘नक्सा पास नगरी बनाएको संरचनाहरुलाई कारबाही गर्ने तथा नक्सा पास गर्ने अधिकार बरु संविधान नै संशोधन गरेर सर्वोच्च अदालतलाई दिने व्यवस्था गर्न हार्दिक अनुरोध गर्दछौँ ।’




