काठमाडौँ। प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरूले समसामयिक तथा जनजीवनसँग प्रत्यक्ष जोडिएका विषयलाई प्राथमिकतामा राख्न सरकारसँग आग्रह गरेका छन्। उनीहरूले जनताको अधिकार संरक्षण गर्नु सरकारको प्रमुख दायित्व भएको स्मरण पनि गराए।
शून्य समयमा विभिन्न सांसदहरूले देशका विभिन्न जिल्लामा देखिएका पूर्वाधार, कृषि, सामाजिक न्याय, विकास निर्माण र सेवा प्रवाहसम्बन्धी समस्यामा सरकारको ध्यानाकर्षण गराए।
सांसद विश्वराज पोखरेलले ओखलढुङ्गामा प्रसारण लाइनबाट करेन्ट लागेर घाइते भएकाको उपचार सुनिश्चित गर्न र यस्ता दुर्घटना रोक्ने व्यवस्थापन गर्न माग गरे।
सांसद बुद्धरत्न महर्जनले चापागाउँ क्षेत्रको जीर्ण सडक तत्काल निर्माण गर्नुपर्ने बताए भने सांसद बुद्धिप्रसाद पन्तले वीरगञ्जको कठिन अवस्था, सडक भत्किएको समस्या र सडक मापदण्डसम्बन्धी दोहोरो नीतिगत व्यवस्थाबारे ध्यानाकर्षण गराए।
सांसद भरतबहादुर स्वाँरले अछाम जिल्ला अस्पताललाई १०० शय्यामा स्तरोन्नति गर्न माग गरे। सांसद भरतप्रसाद पराजुलीले सिन्धुपाल्चोकको गुठी समस्या समाधान गर्न र बाँदर–बँदेल नियन्त्रणका कार्यक्रम ल्याउन आग्रह गरे।
सांसद भूमिका लिम्बू सुब्बाले पाँचथरका पुल निर्माण छिटो सम्पन्न गर्न र वर्षायामअघि वैकल्पिक व्यवस्था गर्न माग गरिन्।
सांसद भूमिका श्रेष्ठले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकको अधिकार सुनिश्चित हुने गरी बजेट बनाउन आग्रह गरिन्।
सांसद मञ्जु भुसालले बुटवलबाट राजधानी सारिएपछि देखिएको आर्थिक सुस्ती समाधान र सुरक्षित बस्ती व्यवस्थापन गर्न माग गरिन्।
सांसद मनकृष्ण श्रेष्ठले अपाङ्गता सम्बन्धी नीति संशोधन गरी विशेष व्यवस्था गर्नुपर्ने बताए भने सांसद मनमाया विकले सुकुमवासी बस्ती हटाउने क्रममा विद्यार्थीको पढाइ प्रभावित भएको भन्दै समस्या समाधानको माग गरिन्।
सांसद मनिष खनालले वास्तविक सुकुमवासी समस्या समाधानका लागि प्राधिकरण गठन गर्नुपर्ने प्रस्ताव राखे। सांसद माधवबहादुर थापाले पाल्पालाई पर्यटन केन्द्रका रूपमा विकास गर्न आग्रह गरे।
सांसद मोहनलाल आचार्यले कपिलवस्तुको तिलौराकोट क्षेत्रको पर्यटन विकासमा बजेट बढाउन माग गरे।
सांसद महम्मद फिरदोस आलमले रौतहट सीमाक्षेत्रको यातायात समस्या समाधान र उखु किसानका समस्या समाधानका लागि चिनी मिल सञ्चालन गर्न माग गरे।
सांसद वसुमाया तामाङले रैथाने परिकार र कृषि उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा पुर्याउन सरकारलाई आग्रह गरिन्।
सांसद यज्ञबहादुर बोगटीले घरबारविहीन नागरिकका लागि आवास व्यवस्था गर्न माग गरे।
सांसद युवराज दुलालले मेलम्ची बाढी पीडितको समस्या समाधान, सामाजिक उत्थान कार्यक्रम सञ्चालन र सडक मर्मतमा ध्यान दिन आग्रह गरे।
सांसद रचना खतिवडा खत्रीले सहिद परिवार र घाइतेको पुनर्स्थापनामा सरकारको ध्यानाकर्षण गराइन्।
सांसद रजनी श्रेष्ठले खेलाडी विदेशिन बाध्य भएको भन्दै विद्यालयस्तरमै खेलकुद अनिवार्य गर्न माग गरिन्।
सांसद रमेशकुमार सापकोटाले कर्णालीमा विद्युत् आपूर्तिमा ढिलाइ भएको भन्दै तीव्र सुधारको माग गरे।
सांसद रमेश प्रसाइँले जेनजी आन्दोलनका दोषीमाथि कानुनी कारबाही गर्न माग गरे।
सांसद रहबर अन्सारीले बारा–पर्सा कोरिडोरमा सरकारी जग्गा अतिक्रमण भएको भन्दै उच्चस्तरीय छानबिनको माग गरे।
सांसद राजकिशोर महतोले नीलगाईका कारण किसानको बाली नष्ट भएको भन्दै नियन्त्रणको माग गरे।
सांसद राजन गौतमले नारायणी कटान पीडितलाई क्षतिपूर्ति र तटबन्ध निर्माण तत्काल गर्न माग गरे।
सांसद राजीव खत्रीले काठमाडौँ–भक्तपुर स्मार्ट सिटी परियोजना दशकौँदेखि ढिलाइ भएको भन्दै छिटो कार्यान्वयन गर्न सरकारलाई आग्रह गरे।
सांसद कलावती शर्माले सुकुमवासी समस्या समाधानलाई प्राथमिकतामा राख्न सरकारको ध्यानाकर्षण गराइन्।




