अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यका लागि अमेरिकाले अघि सारेको प्रस्तावमा इरानले दिएको प्रतिक्रियालाई ‘पूर्ण रूपमा अस्वीकार्य’ भएको बताएका छन् । इरानको अर्ध–सरकारी समाचार एजेन्सी तस्निमका अनुसार पाकिस्तानमार्फत पठाइएको तेहरानको प्रस्तावमा सबै मोर्चामा तत्काल युद्ध अन्त्य, अमेरिकी नौसैनिक नाकाबन्दी हटाउने तथा इरानमाथि थप आक्रमण नगर्ने ग्यारेन्टीको माग गरिएको थियो । पाकिस्तानले यस प्रकरणमा मध्यस्थकर्ताको भूमिका निर्वाह गर्दै आएको छ ।
अमेरिका र इजरायलले फेब्रुअरीमा सुरु गरेको युद्ध अन्त्यका लागि गरिएको युद्धविराम अधिकांश समय कायम रहे पनि बेला–बेलामा दुवै पक्षबीच गोली हानाहान जारी छ । यसैबीच, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले इरानको समृद्ध युरेनियम भण्डार पूर्ण रूपमा हटाइनुपर्ने अडान दोहोर्याएका छन् ।
आइतबार इरानी राष्ट्रपतिले प्रत्यक्ष रूपमा प्रस्तावबारे नबोले पनि ‘संवादको कुरा उठ्दैमा आत्मसमर्पण गरेको अर्थ नलाग्ने’ बताएका छन् । ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखेका छन्, ‘मैले इरानका तथाकथित प्रतिनिधिहरूको प्रतिक्रिया पढें । मलाई यो मन परेन — पूर्ण रूपमा अस्वीकार्य ।’
अमेरिकी समाचार संस्था एक्सियोसका अनुसार अमेरिकाले तयार पारेको १४ बुँदे ज्ञापनपत्रमा इरानको आणविक युरेनियम प्रशोधन स्थगित गर्ने, प्रतिबन्ध हटाउने तथा होर्मुज जलडमरूमध्यमा स्वतन्त्र आवागमन सुनिश्चित गर्ने प्रस्ताव समावेश छ ।
तर इरानले अझै होर्मुज जलडमरूमध्यमा अवरोध कायम राखेकाले विश्व बजारमा तेलको मूल्य बढिरहेको छ । अमेरिकाले पनि दबाब बढाउन इरानी बन्दरगाहहरूमा नाकाबन्दी जारी राखेको छ । फेब्रुअरी २८ देखि सुरु भएको इजरायल–अमेरिका संयुक्त हवाई आक्रमणपछि गत महिना युद्धविराम लागू भएको थियो ।
यसैबीच नेतान्याहुले इजरायली सेनालाई अमेरिकाले दिँदै आएको वार्षिक ३.८ अर्ब डलर सैन्य सहयोग क्रमशः अन्त्य गर्न चाहेको बताएका छन् ।
इरानले अमेरिकी प्रतिबन्ध कार्यान्वयनमा सहयोग नगर्न आफ्ना छिमेकी मुलुकलाई चेतावनीसमेत दिएको छ । इरानी सैन्य प्रवक्ता मोहम्मद अकरामिनियाले होर्मुज जलडमरूमध्य हुँदै यात्रा गर्ने जहाजहरूले तेहरानसँग सहकार्य नगरे ‘गम्भीर परिणाम’ भोग्नुपर्ने चेतावनी दिएका छन् ।




