काठमाडौँ । रक्षा मन्त्रालयले चालु आर्थिक वर्षको त्रैमासिक लक्ष्यअनुसार ८० प्रतिशतभन्दा बढी प्रगति हासिल गरेको जनाएको छ ।
मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक तथा प्रगति समीक्षा कार्यक्रममा मन्त्रालयले आफ्नो समग्र प्रगति सन्तोषजनक रहेको जानकारी दिएको हो ।
मन्त्रालयअन्तर्गत कोशी कोरिडोर (च्याम्ताङ–घोङ्घप्पा), कर्णाली सडक आयोजना र बेनिघाट–आरुघाट–लार्केभञ्जाङ सडक आयोजनाले शतप्रतिशत भौतिक प्रगति हासिल गरेका छन् । महाकाली कोरिडोर (तुषारपानी–टिङ्कर) सडक आयोजनाको प्रगति ८२.९९ प्रतिशत र राष्ट्रिय चुरे संरक्षण कार्यक्रमको प्रगति ८० प्रतिशत पुगेको जनाइएको छ ।
यस्तै, काठमाडौँ–तराई/मधेस द्रुतमार्ग आयोजनाको प्रगति ३४.४ प्रतिशत, राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयको ३५.७३ प्रतिशत र बङ्करदेखि ब्यारेक निर्माण आयोजनाको प्रगति २३.५० प्रतिशत रहेको छ ।
प्रधानसेनापति अशोकराज सिग्देलले कोरिडोर निर्माणका लागि आवश्यक बजेट अभाव हुँदा क्षमताअनुसार काम गर्न कठिनाइ भएको उल्लेख गरे । उनले द्रुतमार्ग आयोजना समयमै सम्पन्न गर्न प्राथमिकता दिइएको पनि बताए ।
रक्षा मन्त्रालयका सचिव केदारनाथ शर्माले प्रगति समग्रमा सकारात्मक भए पनि विभिन्न आयोजनामा देखिएका चुनौती समाधान गर्न अन्तर–मन्त्रालय समन्वय आवश्यक रहेको बताए ।
कार्यक्रममा राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयका अध्यक्ष बालानन्द शर्माले विश्वविद्यालय सञ्चालनका लागि आवश्यक विधेयक अघि बढाउन र पहुँच मार्ग स्तरोन्नतिका लागि आग्रह गरेका थिए । साथै विभिन्न मन्त्रालयका प्रतिनिधिहरूले आवश्यक सहयोग र समन्वयका लागि प्रतिबद्धता जनाएका थिए ।




