अर्थ

हुरीले मकैखेतीमा क्षति

इनरुवा (सुनसरी) । बुधबार राति आएको हुरीले यहाँको इनरुवासहित जिल्लाका विभिन्न स्थानमा मकैखेतीमा क्षति भएको छ ।

जिल्लाका इनरुवा, भोक्राहा, हरिनगर, देवानगञ्जलगायत स्थानीय तहमा व्यावसायिक रूपमा गरेको मकैखेतीमा हुरीले धेरै क्षति भएको भोक्राहा–६ का किसान नगेन्द्रकुमार साहले बताए । विगतमा गहुँखेती गर्दै आएकामा मकैबाट राम्रो आम्दानी हुने भन्दै यसपटक एक बिघा १५ कठ्ठामा मकैखेती गरेकामा हुरीले क्षति पु¥याएर समस्यामा पारेको उनको भनाइ छ ।

“मकैखेतीमा एक लाख ५० हजारसम्म खर्च भएको थियो । त्यसबाट चार लाखसम्म आम्दानी हुने आशा रहेकामा लगानीसमेत डुब्ने अवस्था आएको छ”, साहले भने ।

कृषि ज्ञान केन्द्रका प्रमुख निलकमल सिंहले जिल्लामा गहुँखेती गर्दै आएका धेरैजसो कृषक मकैखेतीतर्फ आकर्षित भइरहेकामा बेला बेला हुने यस्ता विपद्ले समस्यामा पार्ने गरेको बताए । यस पटक हुरीका करिब १० देखि २० प्रतिशतसम्म उत्पादनमा कमी आउने अनुमान रहेको र क्षतिको विवरण सङ्कलनको काम भइरहेको उनले बताए ।

जिल्लामा २०८२/८३ मा ११ हजार २०० हेक्टर क्षेत्रफलमा हिउँदे र वसन्ते मकैखती गरिएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *