काठमाडौं । काठमाडौँमा सोमबारका लागि तय गरिएको प्रतिनिधि सभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बैठक अन्ततः बस्नै नसकी स्थगित गरिएको छ। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) उपस्थित हुन नसक्ने भएपछि बैठक अघि नबढाइएको हो।
बिहान ११ बजेका लागि बोलाइएको बैठकमा समितिको कार्यक्षेत्रभित्र पर्ने विषयहरूमा छलफल गर्ने तयारी थियो। तर, प्रधानमन्त्रीसहित सम्बन्धित मन्त्रीहरू उपस्थित हुन नसक्ने अवस्था बनेपछि बैठक स्थगित गर्ने निर्णय गरिएको समिति सचिवालयले जनाएको छ।
समिति सचिव सहसचिव कान्छा दुलालका अनुसार समितिको अभ्यासअनुसार मन्त्रीको उपस्थिति बिना बैठक सञ्चालन नगर्ने परम्परा रहेको छ। उनले प्रधानमन्त्रीसँगै गृह र रक्षा मन्त्रालय पनि उहाँकै जिम्मामा रहेकाले ती मन्त्रालयको प्रतिनिधित्व सम्भव नभएको जानकारी दिए। साथै, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अन्य कार्यक्रममा व्यस्त रहेकाले बैठक बस्न नसकेको स्पष्ट पारिएको छ।
उक्त समितिको कार्यक्षेत्रमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित गृह, रक्षा, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, लोक सेवा आयोग र निर्वाचन आयोगजस्ता महत्वपूर्ण निकायहरू पर्छन्। बैठकमा आगामी कार्ययोजना र समितिको भूमिका सम्बन्धी विषयमा छलफल गर्ने कार्यसूची रहे पनि ‘विशेष कारण’ देखाउँदै बैठक स्थगित गरिएको सूचना सार्वजनिक गरिएको छ।




