देश

गगन थापालाई राष्ट्रिय राजनीतिमा स्थापित गराउने सिटौलामाथि नै कारबाही !

काठमाडौं ।  नेपाली कांग्रेसभित्र नेतृत्व परिवर्तनसँगै आन्तरिक शक्ति संघर्ष झन् खुला रूपमा सतहमा आएको छ। एक समय गगन थापाको राजनीतिक उकालो यात्राका प्रमुख सहायक मानिएका कृष्णप्रसाद सिटौला अहिले उनै थापाको उदयपछि किनारामा पुर्‍याइएका छन्। राष्ट्रिय सभा संसदीय दलको नेताबाट सिटौलालाई हटाइएपछि कांग्रेसभित्र कृतज्ञता, प्रतिशोध र शक्ति कब्जाको बहस तीव्र बनेको छ।

राजनीतिमा अवसर र स्वार्थले सम्बन्ध बदल्छ भन्ने भनाइ कांग्रेसभित्र फेरि प्रमाणित भएको टिप्पणी हुन थालेको छ। गगन थापालाई राष्ट्रिय राजनीतिमा स्थापित गराउन सिटौलाको भूमिका महत्त्वपूर्ण मानिन्छ। विद्यार्थी राजनीतिबाट मूलधारमा प्रवेश, समानुपातिक सांसद, मन्त्री पद र पार्टीभित्र प्रभावशाली नेताका रूपमा उभिन सिटौलाको साथ निर्णायक बनेको धेरैको बुझाइ छ।

तर अहिले समीकरण उल्टिएको छ। प्रतिनिधि सभा संसदीय दलका नेता भीष्मराज आङदेम्बेमार्फत राष्ट्रिय सभा संसदीय दलको नेतृत्वबाट सिटौलालाई हटाएर कमलादेवी पन्तलाई ल्याइयो। कांग्रेस वृत्तमा सो निर्णय प्रशासनिकभन्दा बढी राजनीतिक सन्देशका रूपमा हेरिएको छ। वास्तविक निर्णयकर्ता पर्दापछाडि गगन थापा नै रहेको चर्चा व्यापक छ।

पार्टीले अनुशासनको कारबाही गरेपछि कांग्रेसभित्र एउटा गम्भीर प्रश्न उठाएको छ–नयाँ नेतृत्व स्थापित गर्न पुरानो पुस्तालाई सम्मानपूर्वक व्यवस्थापन गरिँदैछ कि योजनाबद्ध रूपमा हटाइँदैछ ? यदि दोस्रो कुरा सत्य हो भने कांग्रेसमा पुस्तान्तरण होइन, प्रतिशोधको राजनीति चलिरहेको संकेत मान्नुपर्ने हुन्छ।
थापाले संसदीय दलमा आफ्नो चाहनाअनुसार नेतृत्व चयन गराउन नसक्ने अवस्था देखेपछि सम्झौताको राजनीति रोजेको बताइन्छ। आङदेम्बेलाई सर्वसम्मत बनाउने सर्तमा सिटौलालाई हटाउने, प्रमुख सचेतक र अन्य पदमा आफ्ना निकटलाई ल्याउने सहमति बनेको चर्चा छ। यदि यस्तो हो भने कांग्रेसभित्र सिद्धान्त होइन, पद बाँडफाँटको सौदाबाजीले नेतृत्व तय गरिरहेको देखिन्छ।

सिटौला र थापाबीचको दूरी नयाँ होइन। १४औँ महाधिवेशनपछि थापाले गुट परिवर्तन गरेसँगै सम्बन्ध चिसिएको थियो। त्यसपछि विशेष महाधिवेशन, नेतृत्व परिवर्तन र पार्टी संरचनालाई लिएर दुवै पक्षबीच मतभेद बढ्दै गयो। अहिले आएर त्यो असन्तुष्टि संगठनात्मक कारबाहीको रूपमा देखिएको छ।
विश्लेषकहरू भन्छन्, थापा अहिले पार्टीभित्र एकछत्र प्रभाव स्थापित गर्न चाहन्छन्। त्यसका लागि सम्भावित चुनौती दिने वा वैकल्पिक शक्ति केन्द्र बन्न सक्ने पुराना नेताहरूलाई क्रमशः कमजोर बनाउने रणनीति अपनाइएको हुन सक्छ। सिटौला हटाइनु त्यसै श्रृंखलाको एउटा कडीका रूपमा हेरिएको छ।

तर यस्तो शैली दीर्घकालीन रूपमा थापाकै लागि चुनौती बन्न सक्छ। किनकि कांग्रेस केवल पदले चल्ने पार्टी होइन, सम्बन्ध, सम्झौता, योगदान र सम्मानको राजनीतिक संस्कृतिमा हुर्किएको संगठन हो। पुराना नेताहरूलाई अपमानित गरेर नयाँ नेतृत्व बलियो बनाउने प्रयासले उल्टै असन्तुष्टि, गुटबन्दी र विद्रोह जन्माउन सक्छ।

देउवा समूहले पनि सिटौलालाई हटाउने कदमको विरोध गरिसकेको छ। यसले कांग्रेसभित्र आन्तरिक द्वन्द्व अझ गहिरिने संकेत दिएको छ। अहिले देखिएको मौन असन्तुष्टि भोलि खुला चुनौतीमा बदलिन सक्ने सम्भावना पनि उत्तिकै छ। गगन थापा परिवर्तनको प्रतीक बनेर उदाएका नेता हुन्। तर यदि परिवर्तनको नाममा पुरानो योगदान बिर्सने, साथ दिनेहरूलाई किनारा लगाउने र शक्ति केन्द्रिकरण गर्ने अभ्यास दोहोरियो भने उनको नेतृत्वमाथि नै प्रश्न उठ्नेछ। कांग्रेसभित्र अहिले उठेको मुख्य प्रश्न यही हो— गगनले नयाँ राजनीति थालेका हुन् कि पुरानै शैलीलाई नयाँ अनुहार दिएका हुन् ?

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *