विश्व

युद्धमा मारिएका सैनिकका लागि उत्तर कोरियाको सङ्ग्रहालय

रुस–युक्रेन युद्धमा आफ्ना सैनिकको संलग्नता थप प्रस्ट पार्दै उत्तर कोरियाले मारिएका सैनिकहरूको सम्झनामा प्योङयाङमा स्मारक सङ्ग्रहालय स्थापना गरेको छ । दुई देशबीच बढ्दो सैन्य सहकार्यको सङ्केतका रूपमा आएको यो कदमले उत्तर कोरिया र रुसको सम्बन्ध अझ मजबुत बन्दै गएको देखाएको छ ।

उत्तर कोरियाको सरकारी समाचार एजेन्सी केसीएनएका अनुसार उक्त सङ्ग्रहालयको उद्घाटन आइतबार कुस्र्क क्षेत्रमा भएको सैन्य अभियानको अन्त्य भएको एक वर्ष पूरा भएको अवसरमा गरिएको हो । कार्यक्रममा नेता किम जोङ उनले रुसका उच्च अधिकारीहरूसँग सहभागिता जनाउनुभएको थियो, जसमा राज्य डुमाका सभामुख व्याचेस्लाभ भोलोडिन र रक्षामन्त्री आन्द्रेई बेलोसोभ पनि सहभागी हुनुहुन्थ्यो ।

कार्यक्रमका क्रममा किमले युद्धमा मारिएका एक सैनिकको शवमा माटो चढाउँदै श्रद्धाञ्जली व्यक्त गर्नुभएको थियो भने अन्य सैनिकहरूको सम्मानमा फूल अर्पण गरिएको थियो । त्यसपछि किम तथा रूसी अधिकारीहरूले अतिथि पुस्तिकामा सन्देश लेख्नुभएको थियो । आफ्नो सम्बोधनमा किमले ती सैनिकहरूको बलिदानलाई कोरियाली जनताको वीरताको प्रतीकका रूपमा चित्रण गर्दै यसलाई कोरिया–रुस मित्रताको प्रतीकात्मक उपलब्धि बताउनुभयो ।

अप्रिल २०२५ मा उत्तर कोरिया र रुसले संयुक्त रूपमा आफ्ना सैनिकहरूले रुसको कुस्र्क क्षेत्रमा युक्रेनी आक्रमण रोक्न सँगै लडेको सार्वजनिक गरेका थिए । यद्यपि तैनाथ सैनिकहरूको आधिकारिक सङ्ख्या खुलाइएको छैन । दक्षिण कोरियाको गुप्तचर निकायले भने करिब १५ हजार उत्तर कोरियाली सैनिक पठाइएको र तीमध्ये झन्डै दुई हजार मारिएको अनुमान गरेको छ ।

रक्षामन्त्री बेलोसोभसँगको भेटमा किमले रुसको सुरक्षा नीतिप्रति पूर्ण समर्थन जनाउँदै आगामी वर्षहरूका लागि द्विपक्षीय सैन्य सहकार्य विस्तार गर्ने सङ्केत गर्नुभएको थियो । रूसी समाचार एजेन्सी तासका अनुसार दुवै पक्ष सन् २०२७ देखि २०३१ सम्मको सैन्य सहकार्य योजनामा हस्ताक्षर गर्न तयार रहेका छन् ।

समारोहमा वाचन गरिएको सन्देशमार्फत रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले नयाँ सङ्ग्रहालयलाई दुई देशबीचको मित्रता र एकताको प्रतीकका रूपमा व्याख्या गर्नुभएको छ । उहाँले उत्तर कोरिया र रुसबीचको रणनीतिक साझेदारी अझ सुदृढ हुँदै जाने विश्वास व्यक्त गर्नुभएको छ ।

रुसले युक्रेनमा आक्रमण सुरु गरेयता उत्तर कोरियाले मस्कोलाई हतियार र सैन्य सहयोग उपलब्ध गराउँदै आएको छ । बदलामा उसले आर्थिक तथा प्राविधिक सहयोग प्राप्त गरिरहेको अनुमान गरिएको छ । विशेषगरी रुसले उत्तर कोरियालाई आणविक र मिसाइल प्रविधि हस्तान्तरण गर्न सक्ने सम्भावनाका कारण यसले दक्षिण कोरिया, अमेरिका र उनका सहयोगीहरूमा चिन्ता बढाएको छ ।

विज्ञहरूका अनुसार सुरुमा उत्तर कोरियाली सैनिकहरू युद्ध अनुभवको अभाव र अपरिचित भूभागका कारण कमजोर सावित भएका थिए । तर पछिल्लो समय उनीहरूले युद्ध अनुभव हासिल गर्दै गएको र कुस्र्क क्षेत्रमा ठूलो सङ्ख्यामा सैनिक परिचालन गरेर रुसको रणनीतिमा महत्त्वपूर्ण भूमिका खेलेको आकलन गरिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *