देश

दाउन्नेको पूर्वी खण्डमा एकतर्फी ढलानको काम अन्तिम चरणमा

त्रिवेणी (नवलपरासी)। नारायणगढ–बुटवल सडक विस्तार आयोजनाअन्तर्गत नवलपुरको पूर्वी खण्डको दाउन्ने सडक एकतर्फी ढलानको काम अन्तिम चरणमा पुगेको छ । आयोजनाको पूर्वी खण्डका सूचना अधिकारी शिव खनालका अनुसार पूर्वी खण्डमा अब २०० मिटर लम्बाइमा मात्र सडक ढलानको काम गर्न बाँकी रहेको छ । २०० मिटर ढलानको काम सकिएपछि एकतर्फी ढलानले सडक जोडिनेछ ।

नारायणगढ–बुटवल सडक विस्तार आयोजनाअन्तर्गत पूर्वी खण्डमा दाउन्नेको लम्बाइ तीन दशमलव नौ किलोमिटर पर्दछ । जसमध्ये अब २०० मिटर सडक ढलानको काम सकिँदा एकतर्फी काम सकिनेछ । उक्त कार्य अब चाँडै सकिने सूचना अधिकारी खनालले बताउनुभयो । एकतर्फी ढलानको काम सकिएपछि यात्रा गर्न सहज हुने उहाँको भनाइ छ ।

अहिले दाउन्नेको पूर्वी खण्डमा करिब ३३ मिटर लम्बाइको ढलानयुक्त बाटोबाट सवारी कुदिरहेका छन् । करिब ४०० मिटरको ढलान सकिएको क्षेत्रमा अहिले सवारी सञ्चालन गरिएको छैन । वर्षाअघि नै दाउन्नेको पूर्व खण्डमा ढलानयुक्त सडकले जोडेर यात्रा सहज बनाउने गरी काम भइरहेको उहाँले बताउनुभयो ।

सूचना अधिकारी खनालका अनुसार नवलपरासी पूर्वी खण्डमा पर्ने ६५ किलोमिटर सडकमध्ये हाल करिब सात मिटरमा मात्र कच्ची सडकको यात्रा गर्नुपर्ने अवस्था रहेको छ । अन्य सबै क्षेत्रमा कालोपत्रे र पक्की सडकमा यात्रा गर्न सकिने भएको छ । पूर्वी खण्डमा हालको भौतिक प्रगति ८१ प्रतिशत पुगेको सूचना अधिकारी खनालले बताउनुभयो ।

दाउन्नेको पश्चिम खण्डमा दश किलोमिटर क्षेत्र पर्दछ । जसमा तीन किलोमिटरमा एक चरणको कालोपत्रे सकिएको छ । सात किलोमिटर ढलान गर्नुपर्नेमा अहिले करिब दुई हजार ७०० मिटर ढलानको काम बाँकी रहेको छ । यस क्षेत्रमा तीन स्थानमा कल्भर्ट निर्माणको काम पनि चलिरहेको छ ।

आयोजनाका पश्चिम खण्डका सूचना अधिकारी इन्जिनियर विकास खनालका अनुसार यस क्षेत्रमा पहिरो नियन्त्रणका काम भइरहेको छ ।

नारायणगढ–बुटवल सडक विस्तारको काम २०७५ माघ २४ गते सम्झौता भई २०७९ साउन २२ गते सम्पन्न गर्नेगरी चाइना स्टेट कन्स्ट्रक्सन कर्पोरेसन प्रालिले काम सुरु गरेको थियो । नारायणगढ–बुटवल सडकको कुल ११३ किलोमिटरलाई दुई खण्डमा विभाजन गरी काम अघि बढाइएको थियो । निर्धारित समयमा काम सम्पन्न नभएपछि पटक पटक म्याद थप गरिएको थियो । अहिले चौथो पटक थपिएको म्यादमा अघि बढिरहेको छ ।

एसियाली विकास बैङ्क (एडिबी) को ऋण सहयोगमा अघि बढेको सडक विस्तार योजनाको दुवै खण्ड गरेर कुल रु १६ अर्ब ९९ करोड ५२ लाख ९६ हजार लागत रहेको छ । ११३ किलोमिटर सडकमध्ये ७० किलोमिटर चार लेन, २९ किलोमिटरमा चार लेनसहित दुवैतर्फ छ÷छ मिटरको सर्भिस लेन हुनेछ । दाउन्नेको १४ किलोमिटर क्षेत्रमा तीन लेनको सडक निर्माण हुनेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *