देश

लिपुलेक नाका विवाद: भारतले नेपालको दाबी अस्वीकार गर्दै पुरानै अडान दोहोर्‍यायो

काठमाडौँ। लिपुलेक नाका हुँदै कैलाश मानसरोवर यात्रा पुनः सञ्चालन गर्ने चीन र भारतको निर्णयप्रति नेपालले आपत्ति जनाएपछि भारतले आफ्नो धारणा सार्वजनिक गरेको छ।

नेपाल सरकारले आइतबार प्रेस नोट जारी गर्दै सीमा क्षेत्रमा भएका यस्ता गतिविधिप्रति ध्यानाकर्षण भएको जनाएको थियो। त्यसको जवाफमा भारतीय विदेश मन्त्रालयले एक वक्तव्य जारी गर्दै आफ्नो पुरानो अडान दोहोर्‍याएको हो।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले लिपुलेक नाका सन् १९५४ देखि नै कैलाश मानसरोवर यात्राका लागि प्रयोग हुँदै आएको बताएका छन्।

भारतले यसलाई कुनै नयाँ घटनाक्रम नभई दशकौँदेखि चलिआएको निरन्तर प्रक्रिया भएको दाबी गरेको छ। नेपालले उठाएका सीमासम्बन्धी प्रश्नहरूको सन्दर्भमा भारतले आफ्नो अडान सुस्पष्ट र स्थिर रहेको उल्लेख गरेको छ।

वक्तव्यमा भारतले नेपालको क्षेत्रीय दाबीहरूलाई ऐतिहासिक तथ्य र प्रमाणमा आधारित नभएको टिप्पणी गरेको छ। “एकपक्षीय रूपमा क्षेत्रीय दाबी विस्तार गर्नु व्यवहारिक रूपमा स्वीकार्य हुँदैन,” प्रवक्ता जैसवालद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

भारतले नेपालसँगको सीमा विवाद लगायतका विषयमा ऐतिहासिक तथ्यका आधारमा मात्र छलफल हुनुपर्ने संकेत गरेको छ।

यद्यपि, भारतले नेपालसँगको द्विपक्षीय सम्बन्धलाई महत्व दिँदै सबै विषयमा रचनात्मक संवादका लागि आफू तयार रहेको जनाएको छ।

सीमासम्बन्धी बाँकी रहेका विवादित विषयहरूलाई कूटनीतिक माध्यमबाट समाधान गर्न सकिने विश्वास व्यक्त गर्दै भारतले वार्ताको ढोका खुला रहेको बताएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *