काठमाडौं । काठमाडौँको अनामनगरस्थित रुद्रमती (धोबीखोला) किनारमा रहेको साततले भवनमा आइतबार डोजर चलाइएको छ । संघीय सरकार र काठमाडौँ महानगरपालिकाको समन्वयमा गरिएको कारबाहीअन्तर्गत मापदण्ड विपरीत निर्माण भएको भन्दै भत्काइएको हो ।
भवनका घरधनी इन्द्र चाम्लिङले भने आफूले करिब पाँच वर्षअघि सबै कानुनी प्रक्रिया पूरा गरी घर निर्माण गरेको दाबी गरेका छन् । उनका अनुसार वडा कार्यालयबाट नक्सा पास गराएर नियमित रूपमा कर तथा राजस्व तिर्दै आएको अवस्थामा अचानक डोजर चलाइएकोप्रति उनी आश्चर्यचकित भएका छन् ।
कारबाहीप्रति असन्तुष्टि जनाउँदै चाम्लिङले सम्बन्धित निकायले पर्याप्त संवाद नगरी निर्णय लिएको आरोप लगाए । उनले आफ्नो पक्ष राख्ने अवसर नपाएको गुनासो गर्दै प्रशासनको कार्यशैलीमाथि प्रश्न उठाएका छन् ।
त्यस्तै, उनले महानगर प्रमुखको कार्यशैलीप्रति सम्मान व्यक्त गरे पनि प्रभावित नागरिकसँग छलफल र समन्वयको अभाव भएको बताए । “हाम्रो कुरा सुन्ने अवसर दिएको भए अझ उचित हुने थियो,” उनले प्रतिक्रिया दिए ।
भवन भत्काउने क्रममा चाम्लिङले व्यङ्ग्यात्मक रूपमा सुकुमबासी व्यवस्थापनतर्फ संकेत गर्दै आफ्नो पीडा व्यक्त गरेका छन् । उनले दुःख गरेर बनाएको सम्पत्तिमा क्षति पुगेको भन्दै सरकारको नीतिप्रति आलोचना गरेका हुन् ।
उक्त भवनमा यसअघि मिडिया कार्यालय, स्पा तथा रेस्टुरेन्ट सञ्चालनमा रहेका थिए । महानगरपालिकाले भने खोला किनारको मापदण्ड उल्लङ्घन तथा स्वीकृत नक्साभन्दा बढी संरचना निर्माण भएको ठहर गर्दै कानुनी प्रक्रिया अनुसार कारबाही गरिएको जनाएको छ ।




