देश

मेलम्ची परियोजनालाई सुरक्षित बनाउन लागिरहेका छौँ: खानेपानीमन्त्री मेहता

काठमाडौँ । खानेपानी मन्त्री निशा मेहताले मेलम्ची खानेपानी आयोजनालाई दिगो र सुरक्षित बनाउन सरकारले निरन्तर काम गरिरहेको बताएकी छन् ।

मंगलवार प्रतिनिधिसभाअन्तर्गत पूर्वाधार विकास समितिको बैठकमा उनले मेलम्ची परियोजना काठमाडौँ उपत्यकावासीका लागि स्वच्छ खानेपानीको मुख्य आधार भएको उल्लेख गर्दै यसलाई दीर्घकालीन रूपमा सुरक्षित र व्यवस्थित बनाउने सरकारको प्रतिबद्धता रहेको बताइन् ।

मन्त्री मेहताका अनुसार मेलम्ची आयोजना अझै पनि विभिन्न समस्या र चुनौतीले घेरिएको छ । ती समस्या समाधानका लागि मन्त्रालयमा पटक–पटक छलफल भए पनि ठोस निष्कर्षमा पुग्न बाँकी रहेको उनले जानकारी दिइन् ।

उनले परियोजनालाई दीर्घकालीन रूपमा सञ्चालनयोग्य र जोखिममुक्त बनाउने विषय सरकारको प्राथमिकतामा रहेको बताइन् । साथै अलपत्र परेका खानेपानी योजनाहरूलाई पहिचान गरी समाधान गर्ने काम अघि बढाइएको पनि उनले उल्लेख गरिन् ।

उनले भनिन्, “मेलम्ची काठमाडौँ उपत्यकावासीको आशा र भरोसाको परियोजना हो। यसमा अझै पनि धेरै समस्या छन्। यसलाई दिगो र सुरक्षित बनाउन हामी निरन्तर छलफलमा छौँ, तर अझै निष्कर्षमा पुगेका छैनौँ। अलपत्र खानेपानी योजनालाई प्राथमिकतामा राखेर समस्या पहिचान गरी समाधान खोजिरहेका छौँ।”

उनका अनुसार खानेपानी क्षेत्रमा बजेट अत्यन्त सीमित भए पनि उपलब्ध स्रोत साधनलाई अत्यावश्यक र प्राथमिकताका योजनामा केन्द्रित गरेर काम भइरहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *