काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले निजी क्षेत्रलाई लक्षित गर्दै डर र त्रासमा नपर्न आग्रह गरेका छन्। उनले सरकारको उद्देश्य व्यवसायलाई कमजोर बनाउने नभई नीति सुधार र सुशासन सुदृढ बनाउने रहेको स्पष्ट पारे।
आइतबार निजी क्षेत्रका प्रतिनिधिहरूसँगको छलफलमा बोल्दै उनले उद्योगी व्यवसायीहरूसँग सहकार्य गर्दै आर्थिक प्रणालीलाई सबल बनाउने सरकारको योजना रहेको बताए। उनका अनुसार राज्यले अब कुनै पनि पक्षलाई हतोत्साहित गर्ने होइन, बरु पारदर्शी र व्यवस्थित नीति निर्माणमार्फत संरक्षण दिने दिशामा काम गर्नेछ।
लामिछानेले विगतमा राजनीतिक अस्थिरता र प्रभावका कारण व्यवसायीहरू विभिन्न दबाबमा परेको स्वीकार गर्दै अब त्यस्तो अवस्था दोहोरिन नदिने प्रतिबद्धता जनाए। उनले राज्यले व्यवसायिक क्षेत्रलाई नीतिगत रूपमा सुरक्षा दिने दाबी पनि गरे।
“तपाईंहरूमा केही डर र अनिश्चितता देखिएको सुनेपछि छलफल गर्न चाहिएको हो,” उनले भने, “सरकारको कुनै पनि उद्देश्य व्यवसायलाई धराशायी बनाउने होइन, बरु मिलेर अघि बढ्ने हो।”
उनले राज्यले आर्थिक प्रणालीलाई कमजोर पार्ने गतिविधिमाथि भने कडाइका साथ निगरानी गर्ने स्पष्ट पारे। उनका अनुसार सुशासन कायम गर्न आवश्यक कदमहरू चालिँदा केही असहजता देखिन सक्ने भए पनि त्यसलाई दीर्घकालीन सुधारका रूपमा बुझ्नुपर्ने हुन्छ।
लामिछानेले विगतमा व्यवसायीहरू राजनीतिक दबाबका कारण विभिन्न शक्तिकेन्द्र धाउन बाध्य भएको प्रसङ्ग उठाउँदै अब त्यस्तो अवस्था अन्त्य हुने दाबी गरे। उनले व्यवसायीहरूलाई आफ्ना आन्तरिक कमजोरी मूल्याङ्कन गरी सुधार गर्न पनि आग्रह गरे।
सरकारको नीति, सुशासन र आर्थिक सुधार नै प्रमुख प्राथमिकता रहेको उल्लेख गर्दै उनले चुनावमा जनतासामु प्रस्तुत गरिएको वाचापत्र अनुसार नै सरकार अघि बढ्ने स्पष्ट पारे। उनले निजी क्षेत्रसँग सहकार्य गर्दै कानुन कार्यान्वयनलाई प्रभावकारी बनाउन सरकार तयार रहेको भन्दै व्यवसायीहरूलाई सुधार प्रक्रियामा सक्रिय सहभागिता जनाउन आह्वान गरे। रास्वपा सभापति रवि लामिछाने ले अबको आर्थिक वातावरण व्यवसायमैत्री हुने दाबी गर्दै उद्योगी व्यवसायीलाई ढुक्क भएर काम गर्न आग्रह गरेका छन्।




