काठमाडौं । काठमाडौं महानगरपालिकाले अतिक्रमित संरचना हटाउने अभियान आज पनि जारी राखेको छ। हिजो बल्खु, टेकु वंशीघाट, शंखमुललगायतका क्षेत्रमा ७४४ घरटहरा भत्काइएको थियो।
महानगरका अनुसार तीमध्ये ३२३ परिवार सरकारको सम्पर्कमा आएका छन्। ती परिवारका १ हजार ४१४ जनामध्ये ८० जनालाई हिजै खरिपाटीमा व्यवस्थापन गरिएको छ।
आज बिहानैदेखि रुद्रमती र घट्टेकुलो आसपासका क्षेत्रमा डोजर सञ्चालन गरिएको छ। वडा नं १५ को स्वयंभू क्षेत्र र वडा नं १६ को बालाजु क्षेत्रमा पनि आजैदेखि संरचना हटाउने तयारी भएको काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए।
उनका अनुसार ती क्षेत्रमा ६०० भन्दा बढी संरचना हटाइनेछ। हरेक दिनझैं ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।
हिजो शंखमुल क्षेत्रमा केही लालपुर्जा भएका घरसमेत भत्काइएको भन्दै स्थानीयले असन्तुष्टि जनाएका छन्। सुकुम्बासी पहिचान स्पष्ट नहुँदा नदी किनारका बस्तीमा रहेका सर्वसाधारण प्रभावित भएको गुनासो छ।
धोबीखोला क्षेत्रमा लालपुर्जा टाँसेर बसेका बासिन्दाहरूले समेत घरमा प्रमाणपत्र प्रदर्शन गरेका छन्। अहिले रुद्रमती मन्दिर नजिकैको क्षेत्रमा डोजर चलिरहेको छ।
महानगरले प्रभावित बासिन्दालाई स्क्रिनिङका लागि दशरथ रंगशालामा लैजाने र वास्तविक सुकुम्बासीलाई अस्थायी सेल्टरमा व्यवस्थापन गर्ने जनाएको छ।




