देश

बालेन सरकारले न्यायपालिका कमजोर पार्ने खेल खेल्यो : राष्ट्रिय जनमोर्चा

काठमाडौं । राष्ट्रिय जनमोर्चा ले नयाँ प्रधानन्यायाधीश नियुक्ति प्रक्रियाप्रति गम्भीर असन्तुष्टि जनाएको छ । पार्टीले उक्त नियुक्ति न्यायपालिकालाई सरकारको प्रभावमा राख्ने उद्देश्यसहित अघि बढाइएको दाबी गरेको हो ।

शनिबार बसेको पार्टीको केन्द्रीय कार्यालय बैठकपछि अध्यक्ष चित्रबहादुर केसी द्वारा जारी प्रेस वक्तव्यमा नवनियुक्त प्रधानन्यायाधीशको भूमिकामाथि प्रश्न उठाइएको छ । वक्तव्यमा विगतमा उनले गरेका केही फैसलाका कारण राज्यको आम्दानीमा ठूलो क्षति पुगेको उल्लेख गर्दै त्यस्ता निर्णयले उनको न्यायिक निष्पक्षतामाथि नै शंका उत्पन्न गरेको जनाइएको छ ।

जनमोर्चाले सर्वोच्च अदालतभित्र लामो समयदेखि अभ्यासमा रहेको रोलक्रमलाई बेवास्ता गरिएको भन्दै असन्तुष्टि प्रकट गरेको छ । योग्य र वरिष्ठ न्यायाधीशलाई पन्छाएर राजनीतिक स्वार्थअनुसार नियुक्ति गरिएको आरोप पार्टीको छ ।

वक्तव्यमा सरकारले न्यायपालिकालाई कार्यपालिकाको प्रभावमा ल्याउने प्रयास गरिरहेको उल्लेख गर्दै यस्तो प्रवृत्तिले सर्वोच्च अदालतको स्वतन्त्रता र निष्पक्षता कमजोर बन्ने चेतावनी दिइएको छ । पार्टीले लोकतान्त्रिक मूल्य, विधिको शासन तथा स्वतन्त्र न्यायपालिकामाथि हस्तक्षेप हुन नदिन सबै पक्ष सजग हुनुपर्ने धारणा पनि राखेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *