देश

कांग्रेसभित्र एकता प्रयास तीव्र, तीन शीर्ष नेताहरू एउटै टेबलमा

काठमाडौं । नेपाली कांग्रेसभित्र देखिएको आन्तरिक मतभेद व्यवस्थापन गर्न शीर्ष नेतृत्वबीच संवाद र भेटवार्ता तीव्र बनेको छ। पछिल्ला दिनहरूमा पार्टीका प्रमुख नेताहरूबीच निरन्तर छलफल भइरहेका छन्। यसैक्रममा बुधबार बिहान कांग्रेसका सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काबीच महत्वपूर्ण भेटवार्ता भएको छ। भेट खड्का निवास गल्फुटारमा सम्पन्न भएको हो।
पार्टी स्रोतका अनुसार भेटमा मुख्यतः संगठनभित्रको एकता, आन्तरिक असहमति व्यवस्थापन र आगामी राजनीतिक रणनीतिबारे छलफल भएको थियो। यद्यपि विस्तृत सहमति वा निर्णय सार्वजनिक गरिएको छैन।

सर्वोच्च अदालतबाट कांग्रेसको आधिकारिकतासम्बन्धी विवाद टुंगिएपछि पार्टीभित्रको नेतृत्व व्यवस्थापन र एकता कायम गर्ने प्रयास झनै सक्रिय भएको देखिन्छ। यसअघि वैशाख ६ गते सभापति थापा र निवर्तमान कार्यवाहक सभापति खड्काबीच भेट भएको थियो भने वैशाख १५ मा नेता रमेश लेखकसँग पनि छलफल भएको थियो। त्यस्तै मंगलबार मात्रै सभापति थापाले वरिष्ठ नेता डा. शेखर कोइरालासँग विशालनगरस्थित सम्पर्क कार्यालयमा करिब एक घण्टा लामो छलफल गरेका थिए। उक्त भेटमा पनि पार्टी एकता र आन्तरिक समन्वय मुख्य एजेन्डा रहेको बताइएको थियाे ।

गत पुसमा सम्पन्न विशेष महाधिवेशनपछि कांग्रेसभित्र नेतृत्व र नीति सम्बन्धी मतभेद देखिँदै आएको छ। केही समूहले महाधिवेशनका निर्णयप्रति असहमति जनाएपछि पार्टीभित्र विभाजनको संकेत देखिएको थियो। सभापति थापाले असन्तुष्ट पक्षलाई समेत समेटेर अघि बढ्ने रणनीतिअनुसार संवादलाई प्राथमिकता दिइरहेको बताइएको छ।

कांग्रेसभित्र अहिले देखिएको लगातारको भेटवार्ताले पार्टी नेतृत्व एकता कायम राख्ने प्रयासमा सक्रिय रहेको संकेत गर्छ। तर आन्तरिक मतभेद पूर्ण रूपमा समाधान हुने वा केवल संवादमै सीमित रहने भन्ने विषय भने आगामी राजनीतिक विकासक्रमले निर्धारण गर्नेछ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *