अर्थ

हुरीले दुई बिघाको केराखेतीमा क्षति

घोराही (दाङ)। हावाहुरीका कारण घोराही उपमहानगरपालिका–१२ रतनपुरमा व्यावसायिक केराखेतीमा ठूलो क्षति पुगेको छ।

गत वैशाख २० गते आएको हावाहुरीले स्थानीय कृषक हुमबहादुर केसीले लगाएको करिब दुई बिघा केराखेती पूर्ण रूपमा नष्ट भएको हो। बिक्रीका लागि तयार हुँदै गरेको केरा हावाहुरीले ढालिदिँदा ठूलो नोक्सानी भएको कृषक केसीले बताएका छन्।

माध्यमिक विद्यालय हापुर रतनपुरको जग्गा भाडामा लिएर विगत पाँच वर्षदेखि व्यावसायिक कृषि गर्दै आएका केसीले बिमा नगरेकाले क्षति अझ बढेको बताएका छन्। उनका अनुसार चार बिघामा केरा खेती गरिएकोमा दुई बिघा पूर्ण रूपमा नष्ट भएको छ भने बाँकी दुई बिघामा आंशिक क्षति पुगेको छ।

केसीले उक्त जग्गामा केराखेतीसँगै कुखुरापालन तथा अन्य बालीसमेत गर्दै आएका छन्। जापानमा चार वर्ष बिताएर स्वदेश फर्किएका उनले कृषि व्यवसायमार्फत स्थानीय चार जनालाई रोजगारी समेत दिँदै आएका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *