काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको वर्तमान आर्थिक अवस्था करिब एक दशकअघिको भारतको अवस्थासँग मिल्दोजुल्दो रहेको बताएका छन्।
बाह्रखरी मिडियाद्वारा आयोजित कार्यक्रममा बोल्दै उनले नेपाल अहिले प्रतिव्यक्ति आम्दानी करिब १,५०० डलरको बिन्दुमा रहेको उल्लेख गर्दै यसलाई ‘आर्थिक प्रस्थान बिन्दु’ का रूपमा लिनुपर्ने बताए। उनले अब देशले आर्थिक रूपान्तरणमा ठूलो फड्को मार्नुपर्ने धारणा राखे।
मन्त्री वाग्लेले वर्तमान सरकार पाँच वर्षको पूर्ण कार्यकाल चल्ने दाबी गर्दै यसले लगानीकर्तालाई नीतिगत स्थिरता र सुनिश्चितता दिने बताए। नेपाल भूपरिवेष्टित भएकाले डिजिटलाइजेसनलाई विकासको मुख्य साधनका रूपमा अघि बढाइने उनले स्पष्ट पारे।
सूचना प्रविधिलाई प्राथमिकता दिन सूचना प्रविधि विभागलाई प्रधानमन्त्री कार्यालय मातहत ल्याइएको उल्लेख गर्दै उनले यसले सेवा प्रवाहमा सुधार ल्याउने विश्वास व्यक्त गरे। ‘तौलरहित र दूरीरहित’ अर्थतन्त्रको अवधारणा कार्यान्वयन गर्ने समय आएको पनि उनले बताए।
उनले विगतमा नीतिगत कब्जा र अस्वस्थ राजनीतिक–व्यावसायिक सम्बन्धका कारण व्यावसायिक वातावरण प्रभावित भएको उल्लेख गर्दै अब कानुन कार्यान्वयनमा कडाइ गरिने बताए। इमानदार व्यवसायीलाई संरक्षण गरिने र आगामी बजेट निजी क्षेत्रमैत्री हुने उनको भनाइ छ।
मन्त्री वाग्लेले आगामी सात वर्षभित्र प्रतिव्यक्ति आम्दानी ३,००० डलर पुर्याउने र अर्थतन्त्रको आकार करिब १०० अर्ब डलर पुर्याउने लक्ष्य रहेको जानकारी दिए। भारतले हासिल गरेको उच्च आर्थिक वृद्धिदर नेपालले पनि हासिल गर्न सक्ने उनको विश्वास छ।
उनले पर्यटन, जलविद्युत र उच्च मूल्यका कृषि उपजलाई नेपालको प्रतिस्पर्धात्मक क्षेत्रका रूपमा उल्लेख गर्दै रुग्ण कानुन हटाउने र प्रशासनिक झन्झट अन्त्य गर्ने आफ्नो प्राथमिकता रहेको बताए।




