काठमाडौँ । काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल ले सुकुम्बासी बस्ती हटाएर खाली गराइएको सार्वजनिक जग्गाको संरक्षणका लागि तत्काल काम थाल्न निर्देशन दिएकी छन्।
थापाथलीस्थित वागमती नदी किनारामा खाली गराइएको क्षेत्रको निरीक्षण गर्दै उनले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई तारबार लगाएर संरक्षण गर्न निर्देशन दिएकी हुन्। यसका लागि बागमती सभ्यता एकीकृत विकास समिति लगायत सरोकारवाला निकायसँग समन्वय गर्न भनिएको छ।
डंगोलले नागार्जुनको इचङ्गुस्थित कोलोनीको निरीक्षण पनि गरेकी थिइन्। अव्यवस्थित बस्तीका वास्तविक भूमिहीनलाई त्यहाँका भवनमा व्यवस्थापन गर्ने योजना रहेको महानगरको भनाइ छ।
नदी किनाराका सार्वजनिक तथा पर्ती जग्गामा बनाइएका अनधिकृत संरचना हटाउने क्रममा वैशाख १२ गते थापाथली क्षेत्र खाली गराइएको थियो। महानगरले त्यसअघि माइकिङमार्फत बस्ती हटाउन सूचना जारी गरेको थियो, जसअनुसार केही परिवारले आफैं घरटहरा खाली गरेका थिए।
वडा नं. ११ का अध्यक्ष हीरालाल तण्डुकारका अनुसार थापाथली र वंशीघाट क्षेत्रमा ३३२ घरटहरा थिए, जसमध्ये थापाथलीतर्फका १३६ संरचना भत्काइएका छन्। वंशीघाट क्षेत्रमा अझै १९६ घरटहरा रहेका छन्।
यसैगरी सिनामंगलदेखि वानेश्वर क्याम्पससम्म फैलिएको नदी किनार क्षेत्रमा वडा नं. ९ मा १६२ र वडा नं. ३१ को जागृतिनगर क्षेत्रमा ४७६ घरटहरा रहेका थिए। वडा नं. ९ का संरचना हटाइसकिएको छ भने वडा नं. ३१ मा चरणबद्ध रूपमा हटाउने काम जारी छ।
महानगर प्रहरी बलका प्रमुख विष्णुप्रसाद जोशीका अनुसार मनोहरा क्षेत्र र जागृतिनगरमा एकैसाथ स्रोत–साधन परिचालन गरी बस्ती हटाउने काम भइरहेको छ।
उपत्यका विकास प्राधिकरणका तथ्यांकअनुसार काठमाडौंका विभिन्न वडामा अझै सयौं घरधुरी अव्यवस्थित रूपमा बसोबास गर्दै आएका छन्। २०७९ सालको प्रतिवेदनले उपत्यकाभर ३ हजार ४९६ घरधुरी अव्यवस्थित बसोबासी रहेको देखाएको थियो, जसमा काठमाडौं महानगरभित्र मात्रै २ हजार २४५ घरधुरी छन्।
हालको अवस्थालाई हेर्दा उपत्यकाभर झण्डै ४ हजारको हाराहारीमा अव्यवस्थित बसोबासी रहेको अनुमान गरिएको छ।




