काठमाडौँ । ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिका–रगनीस्थित एक विद्यालयमा भएको भेटघाटबारे सामाजिक सञ्जालमा एक ‘क्लिप’ मात्र सार्वजनिक भएपछि भ्रम सिर्जना भएको भन्दै प्रष्टीकरण दिइएको छ । सचिवालयले उक्त क्लिपले घटनाको वास्तविकता पूर्ण रूपमा नदेखाएको जनाएको छ ।
सचिवालयका अनुसार, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विश्वराज पोखरेल स्थानीय तहका कार्यालय तथा संस्थाहरूको अवस्था, चुनौती र आवश्यकताबारे जानकारी लिन विद्यालय पुगेका थिए । त्यस क्रममा प्रधानाध्यापक कार्यालयभित्रै रहेको र उनलाई कुर्सी दिएर केही समय बाहिर कुर्न अनुरोध गरिएको बताइएको छ ।
सांसद पोखरेलले केही समय प्रतीक्षा गरे पनि लामो समयसम्म प्रधानाध्यापक नआएपछि पुनः बोलाउन पठाइएको र त्यसपछि पनि ढिलाइ भएपछि उनी विद्यालय परिसरबाट बाहिरिएको जनाइएको छ ।
पछि प्रधानाध्यापक हतारिँदै बाहिर आएर आफ्नो कमजोरी स्वीकार गर्दै माफी मागेको र त्यसपछि दुवै पक्षबीच विद्यालयभित्रै सौहार्दपूर्ण छलफल भएको सचिवालयले स्पष्ट पारेको छ ।
सचिवालयले घटनाको पूर्ण भिडियो सार्वजनिक नभई केवल एक अंश मात्र फैलिँदा अनावश्यक भ्रम उत्पन्न भएको जनाएको छ ।
त्यस्तै, विद्यालयजस्ता संस्थामा राजनीतिक प्रभाव र दलगत सोचको प्रभाव बढ्दै जानु चिन्ताजनक रहेको उल्लेख गर्दै संस्थागत मर्यादा, निष्पक्षता र सम्मान कायम राख्नुपर्नेमा जोड दिइएको छ ।




