काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भूपदेव शाहलाई महामन्त्री बनाउने तयारी गरेको छ । आज बस्ने केन्द्रीय समिति बैठकमा उनलाई महामन्त्री बनाउने प्रस्ताव पेश गरिने कार्यसूची रहेको स्रोतले जनाएको छ ।
स्रोतका अनुसार आजकै बैठकबाट उक्त प्रस्ताव पारित हुने सम्भावना उच्च छ । हाल केन्द्रीय सदस्य रहेका शाहलाई पार्टी नेतृत्वले संगठनात्मक जिम्मेवारी विस्तार गर्ने तयारी गरेको हो ।
शाह यसअघि काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहसँग निकट रहेर काम गर्दै आएका थिए । बालेन शाहसँगको राजनीतिक तथा संगठनात्मक सहकार्यका क्रममा उनी सचिवालयमार्फत सक्रिय भूमिकामा रहेका थिए ।
यसअघि भएको सहमतिअनुसार महामन्त्रीमा सुनिल लम्साल रहेका थिए भने भूपदेव शाह सहमहामन्त्रीको भूमिकामा थिए । लम्सालले मन्त्रीको जिम्मेवारी सम्हालेपछि उक्त पदमा शाहलाई पदोन्नति गर्ने तयारी गरिएको हो ।
प्रमुख स्वकीय सचिवका रूपमा समेत काम गरिसकेका शाह बालेन शाहका निकट सहयोगीका रूपमा चिनिन्छन् । रास्वपाको एकीकरण प्रक्रियापछि उनी केन्द्रीय सदस्य बनेका थिए ।
पछिल्लो प्रतिनिधिसभा निर्वाचनमा शाह अछाम–२ बाट उम्मेदवार बनेका थिए तर विजयी हुन सकेका थिएनन् ।




