देश

सुकुम्बासी बस्तीमा डोजर प्रकरणपछि रास्वपा सांसद मनिष खनालको असन्तुष्टि, मानवीय संवेदनशीलता अपनाउन आग्रह

काठमाडौँ । सुकुम्बासी बस्तीमा डोजर लगाइएको विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीभित्र असन्तुष्टि देखिएको छ । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) क्षेत्र नम्बर २ बाट निर्वाचित रास्वपा सांसद मनिष खनालले सुकुम्बासी तथा अव्यवस्थित बसोबासको समस्या समाधान गर्ने क्रममा घटित घटनाले आफूलाई स्तब्ध बनाएको बताएका हुन् ।

उनले सुकुम्बासी बस्तीको व्यवस्थापन गर्ने क्रममा त्यहाँका बालबालिकाको पढाइ, नागरिकको स्वास्थ्य र परिवारले भोग्नुपर्ने मानसिक तनावका विषयमा हामी सबैले अझ बढी संवेदनशीलता अपनाउनु पर्ने उल्लेख गरेका छन् ।

उनले सामाजिक संजालमा लेखेका छन्, ‘राज्यका लागि हरेक नागरिकको जीवन र आत्मसम्मान सबैभन्दा अमूल्य विषय हो । सुकुम्बासी तथा अव्यवस्थित बसोबासको समस्या समाधान गर्ने क्रममा घटित आजको दुःखद घटनाले मलाई स्तब्ध बनाएको छ । हामीले सधैं ’विस्थापन होइन, सुरक्षित व्यवस्थापन’को मान्यतालाई प्राथमिकता दिँदै आएको छौं । यद्दपि, एउटा बस्तीको व्यवस्थापन गर्ने क्रममा त्यहाँका बालबालिकाको पढाइ, नागरिकको स्वास्थ्य र परिवारले भोग्नुपर्ने मानसिक तनावका विषयमा हामी सबैले अझ बढी संवेदनशीलता अपनाउनु पर्ने महसुस गरेको छु। हामी आज जुन जिम्मेवारीमा छौं, त्यो तिनै आदरणीय नागरिकको अटुट विश्वास र भरोसाकै कारण सम्भव भएको हो भन्ने तथ्यलाई हामीले सधैं हृदयमा राख्नुपर्छ ।’

उनले हाम्रा प्रयासहरूले कोही पनि नागरिकलाई पीडा नहोस् र सबैको आत्मसम्मानको रक्षा होस् भन्नेमा सचेत हुनुपर्ने बताएका छन् ।

उनले भनेका छन्, ‘हाम्रा प्रयासहरूले कोही पनि नागरिकलाई पीडा नहोस् र सबैको आत्मसम्मानको रक्षा होस् भन्नेमा हामी सचेत छौं– रहौं। सुरक्षित बसोबासको लक्ष्य बोकेको सरकारले यसको व्यावहारिक कार्यान्वयन गर्दा ’न्याय गरेर मात्र पुग्दैन, न्याय भएको आभास पनि हुनुपर्छ’ भन्ने मान्यतालाई अझ प्रगाढ बनाउँदै लैजाओस् भन्ने मेरो चाहना छ । सरकारको दृष्टि सबैमा पुगोस् र यसमा सजगता अपनाउनेछ भन्ने विश्वास पनि छ । मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *