देश

काठमाडौँ महानगरको कडा कदम: मापदण्ड नपुगेका छात्रावास बन्द गर्ने तयारी

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आधारभूत मापदण्डसमेत पूरा नगरेका तथा सञ्चालनका लागि अयोग्य ठहरिएका छात्रावास बन्द गर्ने तयारी गरेको छ ।

कामपाले छात्रावासको गुणस्तर, सुरक्षा, स्वच्छता र सामाजिक पक्षमा सुधार ल्याउन पाँच वटा अनुगमन टोली परिचालन गरी विस्तृत अनुगमन सुरु गरेको छ ।

शिक्षा विभागका प्रमुख नमराज ढकालका अनुसार हाल करिब ४० हजार व्यक्ति छात्रावास सेवामा बसोबास गरिरहेका छन् । तर मापदण्ड पूरा नगरेका र सुधार गर्न नसकिने अवस्थाका छात्रावासलाई बन्द गर्ने तयारी गरिएको छ ।

उनका अनुसार स्तरीय मापदण्ड पूरा गर्नेहरूलाई दर्ता प्रक्रियामा ल्याइने, सुधार गर्न सकिनेलाई सुधारको अवसर दिइने र अयोग्यलाई बन्द गरिनेछ ।

कामपाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले एउटै स्थानमा दोहोर्‍याएर अनुगमन गर्नुपर्ने अवस्था नआओस् भनेर स्पष्ट निष्कर्षसहित अनुगमन गर्न निर्देशन दिएकी छन् ।

अनुगमनका लागि विभिन्न वडाहरूलाई समेटेर पाँच टोली गठन गरिएको छ, जसले छात्रावासको संरचना, सेवा, सुरक्षा र व्यवस्थापनको अवस्था मूल्यांकन गर्नेछ ।

शिक्षा अधिकारी ढकालका अनुसार कामपाले जारी गरेको छात्रावास सञ्चालन मापदण्ड २०८० अनुसार प्रत्येक छात्रावासमा आधारभूत सुविधा अनिवार्य हुनुपर्छ, जसमा शौचालय, भान्छा, खानेपानी, विद्युत्, फर्निचर, सरसफाइ, पर्याप्त प्रकाश र सीसीटीभी निगरानी जस्ता व्यवस्था समावेश छन् ।

अनुगमनपछि मापदण्ड पूरा गर्ने छात्रावासलाई दर्ता अनुमति दिइने र अपूर्ण तथा असुरक्षितलाई बन्द गरिने महानगरले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *