काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले भदौ २३ र २४ गते भएको ‘जेन–जी आन्दोलन’ षड्यन्त्रपूर्वक गरिएको भन्दै त्यसको जगमै विध्वंस मच्चाइएको आरोप लगाएका छन् ।
नेकपा स्थापना दिवसका अवसरमा बुधबार च्यासलमा आयोजित कार्यक्रममा बोल्दै उनले उक्त विषयमा पार्टीको धारणा जनतामाझ प्रभावकारी रूपमा स्थापित गर्न नसक्दा अहिलेको परिणाम भोग्नुपरेको बताए ।
उनले निर्वाचनमा सफलता हासिल गर्ने पक्षलाई बधाई दिँदै जनादेशको सम्मान गरेको उल्लेख गरे । साथै, एमालेमाथि सुशासनको प्रश्न उठाइए पनि आफ्ना नेता–कार्यकर्ताको सम्पत्ति जाँच गर्न र वर्तमान सरकारमा रहेका नेताहरूको सम्पत्तिसमेत छानबिन गर्नुपर्ने माग गरे ।
पोखरेलले छोटो समयमै सार्वजनिक भइरहेका घटनाक्रमले एमालेले उठाएका आशंकाहरू सही सावित हुँदै गएको दाबी गरे । गलत सूचना र प्रविधिको दुरुपयोगमार्फत जनमत प्रभावित पारिएको कारण एमाले जनताबाट टाढिएको उनको भनाइ छ ।
उनले एमालेका नेता–कार्यकर्तालाई लाञ्छित गर्ने प्रयास भइरहेको आरोप लगाउँदै तथ्यले उनीहरू इमानदार रहेको प्रमाणित गर्ने दाबीसमेत गरे ।




