देश

पनौतीमा नगर अस्पताल सञ्चालन

काभ्रेपलाञ्चोक। पनौती नगरपालिका–१० खोपासीमा नगर अस्पताल सञ्चालनमा ल्याइएको छ।

अस्पतालले पहिलो चरणमा दुई मेडिकल अधिकृतसहित नौ जना जनशक्तिमार्फत बिहान ९ः०० बजेदेखि नियमित सेवा सुरु गरेको जनाइएको छ।

भारतीय दूतावासको सहयोगमा निर्मित अस्पतालको सोमबार नगर प्रमुख रामशरण भण्डारी र नगर उपप्रमुख गीता बञ्जाराले संयुक्तरुपमा उद्घाटन गरे। अस्पताल भवन निर्माण सम्पन्न भएपनि केही समयदेखि विविध कारण सेवा सुरु नगरिएको अस्पतालमा सोमबारदेखि औपचारिक रुपमा सेवा सुरु गरिएको हो।

अस्पतालमा गुणस्तरीय ल्याब सेवा, विशेषज्ञ सेवा, एक्स–रे मेसिनलगायतका सुविधासहित सेवा प्रारम्भ गरिएको अस्पताल व्यवस्थापन समितिका संयोजकसमेत रहेका भण्डारीले बताए। उनले नगरले आफ्ना नागरिकको स्वास्थ्य सेवालाई केन्द्रमा राखेर अस्पताल सञ्चालनमा ल्याएको बताए।

अस्पताल सञ्चालनमा ल्याइएपछि पनौती नगर मात्र होइन आसपासका क्षेत्रका नागरिकले पनि यहाँबाट सहज सेवा पाउने भएका छन्। यहाँ उपलब्ध हुन नसकेको सेवा मात्रै अन्यत्र रिफर गरिने जनाइएको छ।

अस्पतालमा फार्मेसी सेवासमेत सञ्चालनमा ल्याई सरकारले निःशुल्क उपलब्ध गराउने औषधि वितरण गरिने भण्डारीले जानकारी दिए। उनका अनुसार अस्पतालको सेवा क्रमशः विस्तार गर्दै थप विशेषज्ञ सेवा तथा आधुनिक उपकरण थप्दै लगिनेछ। हाल बागमती प्रदेश सरकारले उपलब्ध गराएको रु ४० लाख बजेटले आवश्यक सामग्री खरिद तथा व्यवस्थापन गरिएको छ।

तत्कालीन अवस्थामा जाइकाले निर्माण गरी सञ्चालन गरेको खोपासी प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गर्दै नगर अस्पतालका रुपमा विकास गर्ने योजनाअनुसार थप निर्माण गरी नगर अस्पताल सञ्चालनमा ल्याइएको हो। रु छ करोडको लागतमा अस्पताल निर्माण भएको जनाइएको छ।

अस्पताल सञ्चालनमा आएपछि पनौती नगरका नागरिकलाई आधारभूत स्वास्थ्य सेवाका लागि टाढा धाउनुपर्ने बाध्यता केही हदसम्म अन्त्य हुने अपेक्षा गरिएको छ। पनौती नगरमा उक्त अस्पतालसहित १५ स्वास्थ्य संस्था सञ्चालनमा छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *