काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले नेता पूर्णबहादुर खड्कालाई सोधिएको स्पष्टीकरण फिर्ता नहुने स्पष्ट पारेको छ ।
पार्टीको आधिकारिकताको विषयमा अदालतले फैसला गरेलगत्तै नेता खड्कामाथि सोधिएको स्पष्टीकरण फिर्ता लिने चर्चा भइरहेका बेला समितिका संयोजक तारामान गुरुङले पार्टीको विधानअनुसार गरिएको निर्णयबाट पछि हट्न नसकिने बताएका हुन् ।
पार्टी मुख्यालय सानेपामा सोमबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले ७ दिनको स्पष्टीकरण अवधिमध्ये अझै २ दिन बाँकी रहेको र यसबीच कुनै पनि निर्णय गर्न नमिल्ने स्पष्ट पारे ।
संयोजक गुरुङले भने, “स्पष्टीकरणको प्रक्रिया हामी लिखित रूपमा अगाडि बढेपछि यसको विधि र प्रक्रिया हुन्छ। अहिले ५ दिन भइसकेको छ, अझ २ दिन बाँकी छ। ७ दिन पूरा भएपछि प्रक्रिया अनुसार अघि बढ्छ। स्पष्टीकरण नदिने कुरा कल्पना गर्न सकिँदैन। हामी विधानअनुसार चलिरहेका छौँ। यो व्यक्तिको कुरा होइन, संस्थाको कुरा हो।”
उनले अनुशासन समिति पार्टीको उच्च तहको निर्णय गर्ने निकाय भएकाले व्यक्तिगत रिसइवीका आधारमा निर्णय नहुने पनि स्पष्ट पारे ।
नेता खड्कालाई समितिको वैशाख २ गते बसेको बैठकले स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । उनले भने उक्त निर्णय वैधानिक नभएको भन्दै अस्वीकार गर्दै आएका छन् ।




