काभ्रेपलाञ्चोक। काभ्रेपलाञ्चोकस्थित पनौतीमा प्रविधिको प्रयोगद्वारा तरकारी तथा फलफूलका विषादीको अवशेष न्यूनीकरण गर्न फुड बैंक सञ्चालनमा ल्याइएको छ।
पनौती नगरपालिका–४ स्थित ठाडोबाटोमा राष्ट्रिय कृषि कम्पनी नेपालको सहायक कम्पनी आरकेसिएनएल फुड बैंक लिमिटेडले सो ‘फुड बैंक’ सञ्चालनमा ल्याएको हो।
कम्पनीले ‘ओजोन वास’ प्रविधिद्वारा तरकारी तथा फलफूलको बाहिरी भागमा रहेको विषादीको अवशेषलाई ९९ प्रतिशतसम्म कम गर्ने जनाएको छ।
उक्त प्रविधियुक्त फुड बैंकमा स्थानीयस्तरमै उत्पादन भएको तरकारी–फलफूललाई ‘ओजोन वास’ गरी उपभोक्तालाई उपलब्ध गराइने फुड बैंकका अध्यक्ष विशाल हुमागाईँले बताए। “फुड बैंकमार्फत कृषक र उपभोक्तालाई प्रत्यक्ष लाभ पुर्याउने उद्देश्य राखेका छौँ, यसले बिचौलियालाई समावेश हुन दिँदैन”, उनले भने।
लिमिटेडले आज औपचारिक कार्यक्रमका बीच फुड बैंकको शुभारम्भ गरेको हो। विशेषगरी काभ्रेपलाञ्चोकको तीन स्थानीय तह पनौती, बेथानचोक र बनेपाका कृषकलाई समेटेर पहिलो चरणमा कार्यक्रम सुरु गरिएको अध्यक्ष हुमागाईँले जानकारी दिए। उनका अनुसार क्रमशः जिल्लाका करिब ६० हजार कृषकसम्म यो कार्यक्रम विस्तार गर्ने लक्ष्य राखिएको छ।
उक्त फुड बैंकमा ताजा तरकारी र फलफूल संकलन गर्दै ओजोन वास गरी बिक्री वितरणका लागि राखिनेछ । बैंकमा पाँच हजार केजी क्षमताका दुई शीत भण्डारकोसमेत व्यवस्था गरिएको छ ।
कम्पनीले प्रयोगमा ल्याएको ओजोन वास प्रविधिअन्तर्गत ओजोनयुक्त पानी प्रयोग गरी तरकारी तथा फलफूलमा रहेका विषादी अवेष न्यूनीकरण गर्दै जीवाणुसमेत नष्ट गरिन्छ। यसले कीटनाशक अवशेष हटाउने, दुर्गन्ध तथा हानिकारक तत्त्व हटाउने, साथै खाद्य पदार्थको ‘सेल्फ लाइफ’ बढाउने काम जनाइएको छ।
यस प्रविधिबाट उपभोक्ताले सुरक्षित र स्वास्थ्यकर खाद्य पदार्थ उपभोग गर्न पाउने विश्वास गरिएको छ । यस्तो प्रविधि जिल्लामै पहिलो पटक सञ्चालनमा ल्याइएको हो।




