राजनीति

गुट अन्त्य गर्दै कांग्रेसलाई नयाँ दिशामा लैजाने सभापति थापाको घोषणा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र बृहत्तर एकता, विधिको शासन र संगठनात्मक सुधारलाई प्राथमिकतामा राख्दै सबै पक्षलाई समेटेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

बागमती प्रदेशस्तरीय चुनावी समीक्षा बैठकलाई सोमबार हेटौंडामा सम्बोधन गर्दै उनले पार्टीभित्र देखिएका विवादको अध्याय अन्त्य भइसकेको बताउँदै अब १५औँ महाधिवेशनलाई केन्द्रमा राखेर एकताबद्ध रूपमा अघि बढ्नुपर्नेमा जोड दिए।

थापाले पार्टीभित्रका सबै नेतासँग संवाद सुरु गरेको उल्लेख गर्दै बाहिर रहेका समर्थक र शुभेच्छुकलाई पनि कांग्रेसमा पुनः जोड्नुपर्ने आवश्यकता औंल्याए। उनले भने, “पार्टीभित्र बसेर मात्रै होइन, बाहिर रहेका ठूलो पंक्तिलाई पनि समेटेर अघि बढ्नुपर्छ।”

उनले पार्टी सदस्य भएर अर्को दललाई भोट हाल्ने प्रवृत्तिप्रति कडा टिप्पणी गर्दै त्यस्तो अवस्थामा सदस्यता त्याग्न सुझाव दिए। तर आम मतदाताले जुनसुकै दललाई भोट दिन सक्ने अधिकार रहेको स्पष्ट पारे।

सभापति थापाले देशमा विधिको शासन अनिवार्य रहेको उल्लेख गर्दै प्रधानमन्त्रीदेखि पार्टी सभापति वा आफू स्वयं भए पनि अनुसन्धान प्रक्रियामा सहयोग गर्नुपर्ने धारणा राखे। उनले राज्यका निकायहरूको अनुसन्धान ‘सेलेक्टिभ’ हुन नहुने बताउँदै निष्पक्ष छानबिनको मागसमेत गरे।

उनले गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन अपूर्ण र चयनात्मक भएको टिप्पणी गर्दै २४ गतेको घटनाबारे निष्पक्ष छानबिनका लागि उच्चस्तरीय न्यायिक आयोग गठन आवश्यक रहेको बताए।

थापाले कांग्रेसले सार्वजनिक पदमा बसेका सबै व्यक्तिको सम्पत्ति छानबिन हुनुपर्ने र गैरकानुनी सम्पत्ति जफत गरी राष्ट्रियकरण गर्नुपर्ने धारणा दोहोर्याए। तर यो प्रक्रिया कानुनी र निष्पक्ष हुनुपर्नेमा उनले जोड दिए।

उनका अनुसार कांग्रेस अहिले हार र जितभन्दा पनि भविष्यको चिन्तनमा केन्द्रित हुनुपर्ने अवस्थामा पुगेको छ। “चिन्ता होइन, चिन्तन आवश्यक छ,” उनले भने।

थापाले पार्टीलाई २००७ सालको क्रान्तिकारी, २०४६ सालको लोकप्रिय र २०७० सालको भरोसायोग्य स्वरूपमा पुनः स्थापित गर्नुपर्ने बताउँदै गुटबन्दी अन्त्य गरी नयाँ पुस्ता र छुटेका समर्थकलाई समेटेर अघि बढ्नुपर्नेमा जोड दिए।

उनले विशेष महाधिवेशनको बहस अब समाप्त भएको र सबै ध्यान १५औँ महाधिवेशनमा केन्द्रित गर्नुपर्ने स्पष्ट पारे।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *