गण्डकी प्रदेश

मन्त्री नपाएपछि राजीनामा दिएका गण्डकी सांसद कुँवरले एक दिनमै निर्णय फिर्ता लिए

पोखरा । गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषद् हेरफेरमा आफ्नो नाम नपरेपछि आक्रोशमा बुधबार राजीनामा दिएका प्रदेशसभा सदस्य दोर्णकुमार कुँवरले बिहीबार राजीनामा फिर्ता लिएका छन् ।

बुधबार मन्त्रिपरिषद् पुनर्गठनसँगै सभामुख कृष्णप्रसाद धिताललाई इमेलमार्फत राजीनामा पठाएका कुँवरले बिहीबार फोनमार्फत आफ्नो निर्णय फिर्ता लिएको जानकारी गराएका हुन् ।

बागलुङ–२(२) बाट निर्वाचित नेपाली कांग्रेसका सांसद कुँवर मन्त्री बन्ने आकांक्षी थिए । तर मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बागलुङ–२(१) बाट निर्वाचित कांग्रेस सांसद जितबहादुर शेरचनलाई आर्थिक मामिला मन्त्री नियुक्त गरेपछि उनी असन्तुष्ट बनेका थिए । त्यसपछि उनले सभामुख र संसद् सचिवालयलाई इमेलमार्फत राजीनामा पठाएका थिए ।

सभामुख धितालका अनुसार कुँवर स्वयं उपस्थित भएर राजीनामाको हार्डकपी उपलब्ध नगराएकाले संसद् सचिवालयमा औपचारिक रूपमा दर्ता भएको थिएन । “आज उहाँले नै फोन गरेर राजीनामा फिर्ता लिने जानकारी गराउनुभयो,” सभामुख धितालले बताएका छन् ।

यसैबीच, मुख्यमन्त्री पाण्डेले बुधबार मन्त्रिपरिषद्को व्यापक हेरफेर गरेका थिए । सत्ता गठबन्धनमा रहेका एमाले र कांग्रेसबाट चार–चार जना मन्त्री थपिएसँगै मन्त्रिपरिषद् ९ सदस्यीय बनेको छ ।

एमालेबाट गोविन्दबहादुर नेपाली भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री, यशोदा रिमाल उद्योग तथा पर्यटन मन्त्री, भीम कार्की कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री तथा लक्ष्मण पाण्डे स्वास्थ्य मन्त्री नियुक्त भएका छन् ।

कांग्रेसबाट जितबहादुर शेरचन आर्थिक मामिला मन्त्री, नन्दप्रसाद न्यौपाने ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री, रेखा गुरुङ सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री तथा नम्डु गुरुङ वन तथा वातावरण मन्त्री नियुक्त भएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *