काठमाडौँ । उज्यालो पार्टी नेपालका अध्यक्ष कुलमान घिसिङले सुकुम्वासी तथा अव्यवस्थित बसोबासीहरूको समस्या समाधानमा सरकार गम्भीर हुनुपर्ने बताएका छन् ।
कीर्तिपुरस्थित सुकुम्वासी सेल्टर (होल्डिङ सेन्टर) को स्थलगत निरीक्षणपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले विस्थापितहरूको उचित व्यवस्थापनबिना बस्ती हटाइनु दुःखद भएको टिप्पणी गरे ।
उनले सेल्टरमा बसिरहेका सुकुम्वासीहरूको अवस्था कष्टकर रहेको उल्लेख गर्दै हालसम्म ३ हजार १५९ जनाको स्क्रिनिङ भइसकेको जानकारी दिए । विस्थापितहरूलाई तत्काल सुरक्षित स्थानमा सारेर दीर्घकालीन व्यवस्थापन गर्नुपर्नेमा उनले जोड दिए ।
बसोबासको अनिश्चितताले बालबालिकाको शिक्षा र सर्वसाधारणको स्वास्थ्यमा गम्भीर असर परेको उनको भनाइ छ । हालै भएको आत्महत्याको घटनालाई उल्लेख गर्दै उनले सरकारलाई यस्ता विषयमा संवेदनशील बन्न आग्रह गरे ।
घिसिङले भने, “हाल राखिएको होल्डिङ सेन्टर नै डुबान क्षेत्रमा छ । एउटै टेन्टमा धेरै परिवार बस्नुपर्ने अवस्था छ, जसले स्वास्थ्य र सामाजिक दुवै पक्षमा समस्या निम्त्याएको छ । बालबालिकाको पढाइ प्रभावित भएको छ भने रोजगारी गुम्दा धेरै परिवार आर्थिक र मानसिक दबाबमा छन् ।”
उनले सुकुम्वासी समस्या देशव्यापी भएको भन्दै वास्तविक सुकुम्वासी र अवैध रूपमा सरकारी जग्गा ओगट्ने वर्गबीच स्पष्ट पहिचान आवश्यक रहेको बताए । संविधानले सुनिश्चित गरेको आवास अधिकार कार्यान्वयन गर्दै शिक्षा, स्वास्थ्य र रोजगारीसँग जोडिएको एकीकृत समाधान ल्याउन उनले सरकारलाई आग्रह गरे ।




