काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (नेपाली कम्युनिष्ट पाटी) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभामा दिएको लामो सम्बोधनका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति कडा चेतावनीसहित राजनीतिक सन्देश दिएका छन्। उनले रास्वपाले प्राप्त गरेको जनमतलाई अहंकारमा बदल्ने प्रयास गरे इतिहास दोहोरिन सक्ने संकेत गर्दै सत्ताको दम्भप्रति सचेत रहन आग्रह गरेका हुन्।
सम्बोधनमा प्रचण्डले सरकारको कार्यशैली, गरिब तथा सुकुम्वासीमाथिको व्यवहार, संसदको भूमिका, तथा लोकतान्त्रिक मूल्यहरूमाथि भइरहेका हस्तक्षेपप्रति पनि तीव्र आलोचना गरे। विशेषगरी विद्यार्थी संगठन, ट्रेड युनियन, र अभिव्यक्ति स्वतन्त्रतामाथि देखिएको नियन्त्रण प्रयासलाई उनले ‘प्रतिगामी संकेत’ भनेका छन्।
त्यसैगरी, उनले समावेशी प्रतिनिधित्वलाई नेपालको राजनीतिक संघर्षको ऐतिहासिक उपलब्धि भन्दै त्यसलाई कमजोर पार्ने कुनै पनि प्रवृत्तिप्रति अस्वीकार व्यक्त गरे।
मुख्य १० बुँदाहरू (हाइलाइट)
- रास्वपालाई चेतावनी
रास्वपाले प्राप्त गरेको जनमतलाई अहंकारमा रूपान्तरण गरे इतिहास दोहोरिन सक्ने भन्दै प्रचण्डले स्पष्ट चेतावनी दिए। - “अहंकारको मलखाद” नबनाउन आग्रह
बहुमत वा जनमत स्थायी नहुने भन्दै उनले शक्ति पाएपछि विनम्र रहनुपर्नेमा जोड दिए। - सुकुम्वासी र गरिबमाथि सरकारी व्यवहारको आलोचना
सुकुम्वासी बस्ती भत्काउने कार्यलाई उनले अमानवीय र लोकतन्त्रविपरीत भने। - समावेशी संसदको ऐतिहासिक महत्व
वर्तमान संसदलाई हजारौं सहिदको बलिदानबाट बनेको उपलब्धि भन्दै यसको सम्मान गर्नुपर्ने बताए। - लोकतन्त्र संवादबाट चल्ने प्रणाली हो
सरकार सामाजिक सञ्जाल र एकतर्फी निर्णयतर्फ उन्मुख भएको भन्दै संवादहीन शैलीको आलोचना गरे। - विद्यार्थी र ट्रेड युनियनमाथि दबाबको विरोध
आवाज दबाउने प्रयासलाई उनले ‘प्रतिगामी कदम’ भन्दै कडा आपत्ति जनाए। - सङ्ख्या र बहुमत स्थायी हुँदैन
अघिल्ला राजनीतिक अनुभव स्मरण गराउँदै उनले जनमत अस्थायी र सर्तसहित हुने बताए। - राजनीतिमा सही–गलतको बहस आवश्यक
‘पुराना र नयाँ’ भन्ने विभाजन गलत भएको भन्दै उनले सही र गलतको आधारमा राजनीति हुनुपर्ने बताए। - लोकतन्त्रमा निषेध र प्रतिशोध स्वीकार्य छैन
संसद निषेध, अपमान र प्रतिशोधको थलो नभई सहकार्य र सहमतिमा चल्नुपर्ने धारणा राखे। - राष्ट्रिय एकतामा जोड
भूराजनीतिक संवेदनशीलता र राष्ट्रिय स्रोतसाधनको संरक्षणका लागि सबै राजनीतिक शक्ति एकजुट हुनुपर्ने आवश्यकता औंल्याए।




