काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्ने भएको छ। पार्टी सभापति रवि लामिछाने ले बैठक आह्वान गरेका हुन्।
पार्टीका अनुसार बैठक साँझ ६ बजे वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बस्ने तय भएको छ। बैठकमा संगठनात्मक गतिविधि र आन्तरिक व्यवस्थापनसँग सम्बन्धित विभिन्न विषयमा छलफल हुने जनाइएको छ।
बैठकको प्रमुख एजेन्डामा पार्टीको भेला तथा अधिवेशनको विशेष कार्यतालिका तय गर्ने विषय रहेको छ। साथै आयोग र विभागका पदाधिकारी मनोनयन, केही जिल्ला समितिको विघटन तथा संगठन पुनर्संरचनाबारे पनि छलफल गरिने बताइएको छ।
त्यसैगरी अनुशासनात्मक कारबाहीसम्बन्धी विषय, आगामी केन्द्रीय समिति बैठकको तयारी तथा समसामयिक राजनीतिक अवस्थाबारे समेत सचिवालयमा विचारविमर्श हुने जनाइएको छ।




