देश

सेवा अवरुद्ध भएपछि इन्टरनेट कम्पनीविरुद्ध ग्राहकको कानुनी कदम

काठमाडौं । इन्टरनेट सेवा पटक–पटक अवरुद्ध भएको भन्दै एक सेवाग्राहीले इन्टरनेट प्रदायक कम्पनी क्लासिक टेकविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी दर्ता गरेका छन् । भक्तपुरको ठिमी निवासी शिव पाठकले सेवा नपाएको, समस्या समाधानमा बेवास्ता गरिएको तथा मानसिक तनाव पुगेको दाबी गर्दै १० लाख रुपैयाँ क्षतिपूर्ति माग गरेका हुन् ।

उनका अनुसार सेवा जडान भएको केही दिनमै इन्टरनेट बन्द भएको थियो । पटक–पटक सम्पर्क गर्दा पनि कम्पनीले प्रभावकारी रूपमा समस्या समाधान नगरेको, फरक–फरक जानकारी दिएको र लामो समयसम्म होल्डमा राखेर फोन काट्ने गरेको आरोप उनले लगाएका छन् ।

उजुरीमा कम्पनीको प्राविधिकले सामान्य समस्या भएको बताए पनि लामो समयसम्म सेवा सञ्चालनमा नआएको उल्लेख गरिएको छ । रकम फिर्ता माग्दा कम्पनीले डिपोजिट रकम मात्रै फिर्ता हुने जवाफ दिएकोप्रति पनि उनले असन्तुष्टि जनाएका छन् । पाठकले भ्रामक अफरमार्फत उपभोक्तालाई झुक्याइएको आरोप लगाउँदै कम्पनीमाथि कानुनी कारबाही गर्न समेत माग गरेका छन् । यस विषयमा प्रतिक्रिया लिन खोजिए पनि क्लासिक टेकसँग सम्पर्क हुन सकेन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *