देश

इन्द्रचोक लुटकाण्डमा पेस्तोल देखाएर गहना पसलमा आतंक मच्चाउने गिरोह पक्राउ

काठमाडौं । इन्द्रचोकस्थित गहना पसलमा पेस्तोल देखाएर लुटपाट गर्ने प्रयासमा संलग्न तीन जना पक्राउ परेका छन्। प्रहरीका अनुसार उनीहरूलाई विभिन्न स्थानबाट पक्राउ गरी घटनामा प्रयोग भएका हतियारसहित नियन्त्रणमा लिइएको हो। पक्राउ पर्नेहरूमा भक्तपुर ठिमी–९ का ३० वर्षीय विकेश राजवाहक, काठमाडौं डल्लुका ३४ वर्षीय अरुण भुजेल र ललितपुर महालक्ष्मी–६ का हरिकृष्ण महर्जन रहेका छन्। राजवाहक र भुजेललाई जिल्ला प्रहरी परिसर काठमाडौंले नियन्त्रणमा लिएको हो भने महर्जनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो।

प्रहरीका अनुसार उनीहरूले गत वैशाख १७ गते इन्द्रचोकको एक ज्वेलरी पसलमा पेस्तोल देखाएर लुटपाट गर्ने प्रयास गरेका थिए। तर पसलमा उपस्थित एक महिलाले साहसपूर्वक प्रतिकार गरेपछि उनीहरू घटनास्थलबाट भाग्न बाध्य भएका थिए। उक्त घटनाको भिडियो सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको थियो।

अनुसन्धानका क्रममा यही समूहले यसअघि पनि मंसिर महिनामा काठमाडौंको मांसान गल्लीस्थित एक होलसेल पसलमा समान शैलीमा लुटपाट गरेको खुलेको छ। उक्त घटनामा उनीहरूले सुनका गरगहना, नगद रकम, मोबाइल फोन तथा सीसी क्यामेरा समेत लुटेको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरूको साथबाट चाइनिज पेस्तोल, म्यागजिन, गोली, घटनामा प्रयोग भएका कपडा तथा स्कुटर बरामद गरिएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *