देश

लिपुलेक मुद्दामा कांग्रेसको धारणा–वार्ताबाटै खोजिनुपर्छ दीर्घकालीन समाधान

काठमाडौं । नेपाली कांग्रेसले लिपुलेक–लिम्पियाधुरा क्षेत्रसँग सम्बन्धित पछिल्लो गतिविधिप्रति चासो व्यक्त गर्दै यस विषयलाई कूटनीतिक माध्यमबाट समाधान गर्न सरकारलाई सुझाव दिएको छ। भारत र चीनबीच उक्त मार्ग हुँदै कैलाश मानसरोवर यात्रा सञ्चालन गर्ने सहमतिपछि कांग्रेसले आफ्नो धारणा सार्वजनिक गरेको हो। सोमबार बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले सीमा विवादलाई संवेदनशील विषयका रूपमा लिएर संवाद र कूटनीतिक पहलमार्फत टुंगोमा पुर्‍याउनुपर्ने निष्कर्ष निकालेको सहमहामन्त्री उदयशमशेर जबराले जानकारी दिए।

उनका अनुसार, सरकारले हालै पठाएको कूटनीतिक नोटलाई कांग्रेसले सकारात्मक रूपमा लिएको छ। साथै, ऐतिहासिक सन्धि र प्रमाणहरूका आधारमा नेपालको पक्षलाई मजबुत रूपमा प्रस्तुत गर्दै समाधान खोजिनुपर्ने धारणा पार्टीको रहेको छ। कांग्रेसले सुगौली सन्धिलगायतका आधारलाई टेकेर वार्तामार्फत समस्या समाधान गर्नुपर्ने बताउँदै अघिल्लो समयमा पनि कूटनीतिक पहलको सुरुआत आफ्नै नेतृत्वको सरकारले गरेको स्मरण गराएको छ।

यस विषयमा राष्ट्रिय सहमति आवश्यक रहेको उल्लेख गर्दै कांग्रेसले सबै राजनीतिक दललाई एकजुट बनाएर अघि बढ्न सरकारसँग आग्रह गरेको छ। साथै, परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो धारणा पनि यही सन्दर्भमा आएको उल्लेख गरिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *