काठमाडौं । धोबीखोला करिडोरअन्तर्गत देवीनगर क्षेत्रमा रहेको एक ठूलो संरचना हटाउने प्रक्रिया सुरु गरिएको छ । अतिक्रमण गरेर निर्माण गरिएको ठहरपछि सम्बन्धित निकायले उक्त भवन भत्काउने तयारी अघि बढाएको हो ।
आइतबार बिहानदेखि सुरक्षाकर्मीको निगरानीमा भवनभित्र रहेका सामग्री बाहिर निकाल्ने काम भइरहेको छ । सो क्षेत्रमा सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा नगर प्रहरीको उल्लेख्य उपस्थिति रहेको छ ।उक्त भवनमा रेष्टुरेन्ट, बार, स्पा लगायत विभिन्न व्यवसाय सञ्चालनमा रहेको जनाइएको छ । केही दिनयता सामाजिक सञ्जालमा चर्चामा रहेको यो संरचना हटाउने निर्णयसँगै स्थानीय क्षेत्रमा चासो बढेको छ । घरधनीले भने आफूले नियम कानुन अनुसार नै निर्माण गरेको दाबी गर्दै आएका छन् ।
यसअघि पनि सोही करिडोर क्षेत्रमा रहेका अन्य सुकुमबासी बस्तीका घरहरू हटाइसकिएको थियो । सम्बन्धित निकायले सार्वजनिक जग्गा संरक्षण तथा व्यवस्थापनलाई लक्षित गर्दै अभियान जारी राखेको जनाएको छ ।




