गण्डकी प्रदेश

हुरीले उडाएका घर पुनर्निर्माणमा जुटे गोरखाका युवा: स्वयंसेवी अभियानबाट २५ बढी घर मर्मत

गोरखा। केही दिनअघि आएको हुरीबतासले क्षतिग्रस्त बनाएका घरहरू गोरखाको पालुङटार नगरपालिका–९ मा स्थानीय युवाहरूले सामूहिक रूपमा मर्मत गरिरहेका छन् ।

गत वैशाख ६ गते आएको हावाहुरीले गाउँका दर्जनौँ घरको छाना उडाएको थियो । विपद्पछि गाउँका युवाहरूले स्वयंसेवी रूपमा समूह बनाएर प्रभावित घरहरूको मर्मतसम्भार थालेका हुन् ।

स्थानीय सुरेश सुनारी मगरका अनुसार गाउँमा विपद् आएको भोलिपल्टै युवाहरूले विभिन्न समूह बनाएर काम सुरु गरेका थिए । काठको काम जान्नेले काठ, छाना छाउन जान्नेले छाना तथा विद्युत् सम्बन्धी काम जान्नेले वायरिङ गर्दै सबैले आ–आफ्नो सीपअनुसार योगदान दिइरहेका छन् ।

अर्का स्थानीय भक्तबहादुर रानामगरले घरको क्षतिको अवस्थाअनुसार समूह बनाएर काम भइरहेको बताए । उनका अनुसार एउटा घरको काम सकिएपछि सोही समूह अर्को घरमा गएर सहयोग गर्ने गरिएको छ । बिहानदेखि साँझसम्म निरन्तर खटिँदै युवाहरूले अहिलेसम्म २५ भन्दा बढी घर मर्मत गरिसकेका छन् ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसीका अनुसार हुरीबतासले वडा नं. ९ मा ३८, वडा नं. ८ मा ८, वडा नं. ७ मा १० र वडा नं. ६ मा १३ घरमा क्षति पुर्‍याएको छ । साथै वडा नं. ९ स्थित त्रिवेणी माध्यमिक विद्यालय र एक स्वास्थ्य संस्था पनि प्रभावित भएका छन् ।

स्थानीय तहले तत्काल राहतस्वरूप त्रिपाल वितरण गरिसकेको र अब पूर्ण क्षति भएका घरहरूको पुनर्निर्माणका लागि विपद् व्यवस्थापन समितिमार्फत थप निर्णय गरिने जनाएको छ ।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *