देश

४६ अर्ब बचत फिर्ता प्रक्रिया जेठबाट सुरु हुने, कर्जा असुलीमा कडा नीति अपनाइने

काठमाडौं । समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता प्रक्रिया आगामी जेठको पहिलो सातादेखि सुरु हुने भएको छ।

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले मंगलबार आफ्नो कार्ययोजना सार्वजनिक गर्दै जेठको पहिलो साताबाट माग दाबी गरेका बचतकर्तालाई बचत फिर्ता गर्ने प्रक्रिया प्रारम्भ गर्ने जनाएको हो।

समितिका अनुसार माग दाबी छुट भएका बचतकर्ताका लागि आगामी साउनको पहिलो सातादेखि पुनः दाबी गर्ने अवसर खुला गरिनेछ। साथै कर्जा असुली प्रक्रियामा अब कानुनअनुसार कडा नीति अपनाइने पनि समितिले स्पष्ट पारेको छ।

किस्ताबन्दीमा कर्जा तिर्न लिखित प्रतिबद्धता जनाई निश्चित रकम दाखिला गर्ने ऋणीलाई यथोचित समय दिइनेछ भने तिर्न अटेर गर्ने ऋणीको तीनपुस्ते नामावली सार्वजनिक गर्ने र परिवारका सदस्यलाई समेत कालोसूचीमा राख्ने चेतावनी समितिले दिएको छ।

हाल समस्याग्रस्त सहकारीका करिब ७६ हजार बचतकर्ताको झन्डै ४६ अर्ब रुपैयाँ फिर्ता गर्न बाँकी रहेको समितिले जनाएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *