देश

स्थानीय तहबाटै नापी र मालपोत सेवा दिन २ सय बढी पालिका तयार

काठमाडौँ । स्थानीय तहबाटै नापी तथा मालपोत सेवा सञ्चालन गर्न २०७ वटा पालिकाले इच्छा व्यक्त गरेका छन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले एक साता अघि सूचना आह्वान गरेपछि बिहीबारसम्म धरान उपमहानगरपालिका सहित २०७ पालिकाले सेवा दिन इच्छुक रहेको भन्दै निवेदन दिएका हुन् ।

इच्छुक पालिकामध्ये हुम्लाको सर्केगाड गाउँपालिका, इलामको चुलाचुली गाउँपालिका, सर्लाहीको चक्रभट्टा गाउँपालिका, कञ्चनपुरको बेलडाँडी गाउँपालिका सहित घोराही, धरान र धनगढी उपमहानगरपालिका तथा भरतपुर र पोखरा महानगरपालिका समेत रहेका छन् ।

मन्त्रालयले प्राप्त निवेदनहरूको अध्ययन सुरु गरेको छ र चरणबद्ध रूपमा सेवा हस्तान्तरण गर्ने तयारी गरेको जनाएको छ । पहिलो चरणमा केही पालिकालाई छनोट गरी नापी तथा मालपोत सेवा स्थानीय तहबाटै सञ्चालन गर्ने योजना छ ।

पालिका छनोट गर्दा सेवाग्राहीको चाप, पहुँच र व्यवस्थापन क्षमताका आधारमा निर्णय गरिने मन्त्रालयले जनाएको छ । साथै, सम्बन्धित जिल्लाका नापी तथा मालपोत कार्यालयका अधिकारीलाई स्थलगत अनुगमन गर्न पनि निर्देशन दिइएको छ ।

मन्त्रालयले आवश्यक जनशक्ति, प्राविधिक सहयोग तथा तालिमको व्यवस्था गर्दै एक साताभित्रै केही पालिकामा सेवा हस्तान्तरण गर्ने तयारी गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *