राजनीति

सीमा मुद्दामा सरकार सक्रिय, भारतसँग संवाद प्रक्रिया अघि बढेको दाबी

काठमाडौं । सरकारले नेपाल–भारत सीमा विवाद समाधानका लागि कूटनीतिक पहल तीव्र बनाएको जनाएको छ । मन्त्रिपरिषद् बैठकपछि सरकारका प्रवक्ता सस्मित पोखरेलले भारत सरकारलाई औपचारिक कूटनीतिक नोट पठाइसकिएको र दुई देशबीच संवाद प्रक्रिया सुरु भइसकेको जानकारी दिएका हुन् ।

उनका अनुसार परराष्ट्र मन्त्रालयमार्फत आवश्यक कूटनीतिक तयारी भइरहेको छ भने निकट भविष्यमा दुई देशबीच वार्ता हुने अपेक्षा गरिएको छ । सरकारले सीमा समस्यालाई संवादकै माध्यमबाट समाधान गर्ने नीति लिएको पनि उनले स्पष्ट पारे ।

प्रवक्ता पोखरेलले सरकार मन्त्रालयको संख्या घटाउने तयारीमा रहेको जानकारी पनि दिए । चुनावी प्रतिबद्धताअनुसार मन्त्रालयको संख्या अधिकतम १८ वटामा सीमित गर्ने योजना अन्तर्गत समान प्रकृतिका मन्त्रालय गाभ्ने गृहकार्य भइरहेको उनले बताए ।

त्यस्तै, निजी विद्यालयले भर्ना शुल्कका नाममा अतिरिक्त रकम उठाएको गुनासोबारे पनि सरकारले चासो दिएको छ । कानुनले तोकेभन्दा बढी शुल्क लिन नपाइने स्पष्ट व्यवस्था रहेको उल्लेख गर्दै उनले स्थानीय तहलाई अनुगमन र कारबाहीको जिम्मेवारी दिइएको बताए ।

सरकारले सीमा कूटनीति, प्रशासनिक सुधार र शिक्षा क्षेत्रको शुल्क अनुगमनलाई एकसाथ प्राथमिकतामा राखेर काम अघि बढाएको जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *