काठमाडौं । नेपाली कांग्रेसका विभिन्न पाँच भ्रातृ संगठनका केन्द्रीय कार्यसमितिहरू स्वतः विघटन भएका छन्।
पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको सोमबार बसेको बैठकले म्याद थप नगर्ने निर्णय गरेपछि १३ मध्ये पाँच भ्रातृ संगठनका केन्द्रीय कार्यसमितिहरू स्वतः विघटन भएका हुन्।
विघटन भएका भ्रातृ संगठनहरूमा नेपाल विद्यार्थी संघ (नेविसंघ), नेपाल तरुण दल, महिला संघ, नेपाल दलित संघ र नेपाल लोकतान्त्रिक खेलकुद संघ रहेका छन्।
महामन्त्री प्रदीप पौडेलका अनुसार तरुण दल र दलित संघका अध्यक्षहरूले राजीनामा दिएका छन् भने बाँकी संगठनहरूको म्याद थप नगरिएको हो।
कांग्रेसले यसअघि तदर्थ समितिमा रहेका भ्रातृ संगठनलाई २०८१ चैत मसान्तभित्र महाधिवेशन गर्न निर्देशन दिएको थियो। तर अधिकांश संगठनले निर्धारित समयसीमाभित्र महाधिवेशन सम्पन्न गर्न नसकेपछि म्याद स्वतः समाप्त भएको हो।
सोमबारको बैठकले तदर्थ समितिले महाधिवेशन नगरेको र गर्न सक्ने आधार पनि नदेखिएको निष्कर्ष निकाल्दै म्याद थप आवश्यक नभएको ठहर गरेको छ।
निर्णयअनुसार म्याद सकिएका समितिले गरेका सबै निर्णय र मनोनयनहरू स्वतः अवैध हुनेछन्। अब सभापति गगनकुमार थापालाई अधिवेशन नभएका भ्रातृ संस्थाहरूको महाधिवेशनका लागि आवश्यक व्यवस्था मिलाउने जिम्मेवारी दिइएको छ।
यससँगै नयाँ तदर्थ समिति गठन गरी महाधिवेशन प्रक्रिया अघि बढाइने कांग्रेसले जनाएको छ।
कांग्रेसका १४ औं महाधिवेशनपछि भ्रातृ संगठनहरूलाई सक्रिय बनाउन २०७८ फागुनमा १० वटा संगठनका केन्द्रीय समिति विघटन गरी तदर्थ समिति गठन गरिएको थियो। तर ती समितिहरूले लामो समयसम्म पनि महाधिवेशन सम्पन्न गर्न सकेका थिएनन्।
नेविसंघ २०७३ पछि अधिवेशनविहीन रहँदै आएको छ भने तरुण दल, महिला संघ, दलित संघ र खेलकुद संघ पनि लामो समयदेखि तदर्थ संरचनामै सञ्चालन हुँदै आएका थिए।




