काठमाडौं । स्मार्ट टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सर्वेश जोशी पक्राउ परेका छन्। ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी आरोपमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले उनलाई नियन्त्रणमा लिएको हो।
सीआईबीका अनुसार जोशीलाई सोमबार काठमाडौं महानगरपालिका–२ खुर्सानीटारबाट पक्राउ गरिएको हो। उनीमाथि सरकारी सम्पत्तिमा हानी पुर्याउने गरी बेइमानीपूर्वक कार्य गरेको आरोप लागेको छ।
स्मार्ट टेलिकमको अनुमति पत्र नवीकरण नभएपछि २०८० वैशाख ३ गतेदेखि स्वतः खारेज भएको थियो। त्यसपछि कम्पनीका सम्पत्ति नेपाल दूरसञ्चार प्राधिकरणले नियन्त्रणमा लिएको थियो। तर ती सम्पत्तिको व्यवस्थापनमा अनियमितता भएको भन्दै अनुसन्धान अघि बढाइएको हो।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।




