काठमाडौं । रामचन्द्र पौडेलले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरेका छन्। मन्त्रिपरिषद्को सिफारिसमा उक्त अध्यादेश जारी गरिएको हो।
यसअघि सरकारले सिफारिस गरेका आठ अध्यादेशमध्ये सातवटा स्वीकृत गर्दै राष्ट्रपतिले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश भने पुनर्विचारका लागि फिर्ता पठाएका थिए। तर सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सोही अध्यादेश जस्ताकोतस्तै पुनः सिफारिस गरेपछि राष्ट्रपतिले यसपटक जारी गरेका हुन्।
अध्यादेशअनुसार अब संवैधानिक परिषद्को बैठकमा कम्तीमा चार सदस्य उपस्थित भए बैठक बस्न सक्नेछ भने उपस्थित सदस्यहरूको बहुमतका आधारमा निर्णय लिन सकिने व्यवस्था गरिएको छ।
प्रधानमन्त्रीको अध्यक्षतामा रहने परिषद् ६ सदस्यीय हुन्छ। परिषद्मा प्रधानमन्त्री, प्रमुख प्रतिपक्ष दलका नेता, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, उपसभामुख र राष्ट्रियसभाका अध्यक्ष सदस्य रहने व्यवस्था छ।





