काठमाडौं । प्रतिनिधिसभामा सरकारले जारी गरेका आठ अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक औपचारिक रूपमा पेस गरिएको छ। सिंहदरबारस्थित संसद् भवनमा बसेको बैठकमा विभिन्न मन्त्रालयका मन्त्रीहरूले आ–आफ्नो क्षेत्रसँग सम्बन्धित विधेयक प्रस्तुत गरेका हुन्। प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले ल्याएका अध्यादेशहरूको प्रतिस्थापन प्रक्रिया अघि बढाउँदै कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले तीन वटा प्रमुख विधेयक पेस गरिन्। जसमा सार्वजनिक खरिद ९दोस्रो संशोधन० अध्यादेश, सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश र संवैधानिक परिषद् ९पहिलो संशोधन० अध्यादेश समावेश छन्।
त्यसैगरी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सम्पत्ति शुद्धीकरण ९मनी लाउन्डरिङ० निवारणसम्बन्धी तेस्रो संशोधन अध्यादेश पेस गरेका छन्। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले सहकारी ऐन संशोधनसम्बन्धी अध्यादेश दर्ता गरिन् भने स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी संशोधन विधेयक पेस गरेकी हुन्।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले विश्वविद्यालयसम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश पनि संसद्मा प्रस्तुत गरेका छन्। सरकारले ल्याएका यी विधेयकहरू अध्यादेशलाई कानुनी रूप दिनका लागि प्रतिस्थापन प्रक्रिया अन्तर्गत अघि बढाइएको संसद् सचिवालयले जनाएको छ।




