काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले सरकारको पछिल्ला कदमहरू लोकतान्त्रिक मूल्यविपरीत भएको आरोप लगाउँदै प्रतिनिधिसभामा कडा प्रश्न उठाएको छ। सोमबार बसेको पहिलो बैठकको शून्य समयमा नेकपा संसदीय दलका प्रमुख सचेतक युवराज दुलालले सरकारको निर्णय प्रक्रिया र व्यवहारप्रति गम्भीर आपत्ति जनाए।
दुलालले सुकुम्बासी बस्तीमा गरिएको डोजर अभियानदेखि संवैधानिक परिषदमार्फत गरिएका निर्णयसम्मलाई संकेत गर्दै सरकारमाथि लोकतान्त्रिक अभ्यास कमजोर पार्ने आरोप लगाए। उनले नागरिकलाई निराशा र असुरक्षातर्फ धकेल्ने नीतिले राज्यको जिम्मेवारीमाथि प्रश्न उठेको बताए। उनले व्यङ्ग्यात्मक शैलीमा सरकारका कदमले नागरिकलाई आत्महत्या गर्न बाध्य बनाउने अवस्था सिर्जना भएको हो कि होइन भन्ने प्रश्न गर्दै जिम्मेवारीको सीमा के हो भन्ने विषय स्पष्ट गर्न आग्रह गरे।
नेकपाले संवैधानिक परिषदको निर्णय प्रक्रियामाथि पनि आपत्ति जनाएको छ। सदस्यहरूको सहमति र सहभागितालाई बेवास्ता गरेर गरिएको निर्णयले लोकतान्त्रिक प्रणालीमाथि चुनौती खडा गरेको दुलालको भनाइ छ। सचेतक दुलालले सरकार ‘कानूनको शासन’को नारा लिएर सत्तामा आए पनि व्यवहारमा त्यसको विपरीत दिशामा अघि बढिरहेको टिप्पणी गरे। उनले सरकारको वर्तमान अभ्यास लोकतन्त्र सुदृढ गर्ने दिशामा हो कि निरंकुशतातर्फ उन्मुख भन्ने विषयमा स्पष्टता आवश्यक रहेको बताए।




