काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयअन्तर्गतको ई–बोलपत्र प्रणालीमा अनधिकृत पहुँच पुर्याई ठेक्का प्रक्रियामा हेरफेर गरेको आरोपमा निर्माण व्यवसायीहरूसहित २२ जनाविरुद्ध मुद्दा दायर भएको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालय काठमाडौंले जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । प्रतिवादीमध्ये प्रमुख रूपमा विक्रम पाण्डे कालिका (कन्स्ट्रक्सनका सञ्चालक) रहेका छन् ।
मुद्दा दायर भएका अन्य प्रतिवादीहरूमा ई–बोलपत्र प्रणालीमा पहुँच बनाएर ठेक्का प्रक्रियामा चलखेल गरेको आरोप लागेका दिवाकर देउजा, भरत धामी, सञ्जय भट्ट, सागर कटुवाल, भाष्करराज अर्याल, जीवनकुमार दास, अनिल श्रेष्ठ, टंककुमार श्रेष्ठ, अमृत बोहोरा लगायत २२ जना निर्माण व्यवसायी तथा प्राविधिकहरू रहेका छन् ।
अनुसन्धानअनुसार उनीहरूले सार्वजनिक खरिद अनुगमन कार्यालयको “बोलपत्र डट कम डट एनपी” प्रणालीमा अनधिकृत पहुँच बनाएर ठेक्काको विवरण परिवर्तन गर्ने, कम मूल्य देखाई ठेक्का हात पार्ने र आपसमा समन्वय गरी बिडिङ प्रक्रिया प्रभावित गर्ने गरेको आरोप छ ।
सीआईबीका अनुसार केही प्रतिवादीले क्लाउड सर्भरमार्फत प्रणालीमा प्रवेश गरी डाटा परिवर्तन गर्ने, साथै ह्वाट्सएपमार्फत ठेक्का सेटिङ सम्बन्धी समन्वय गर्ने गरेको देखिएको छ ।
त्यस्तै, २०२३ यता डाटा हब प्रालिको भर्चुअल सर्भर प्रयोग गरी परीक्षणका नाममा प्रणालीमा पहुँच बनाएर मूल्य हेरफेर तथा क्रिप्टोकरेन्सी कारोबारसमेत गरिएको अनुसन्धानमा उल्लेख छ ।
प्रहरीले यस प्रकरणमा हालसम्म १२ जनालाई पक्राउ गरेको छ भने बाँकी प्रतिवादीहरूलाई फरार सूचीमा राखी मुद्दा अघि बढाइएको छ । सरकारी वकिल कार्यालयले उनीहरूविरुद्ध विद्युतीय माध्यमबाट अनधिकृत पहुँच, संगठित ठगी तथा क्रिप्टो कारोबारसम्बन्धी कसुरमा सजायको मागदाबी गरेको छ ।




