काठमाडौं । काठमाडौं उपत्यकामा निरन्तर ट्राफिक नियम उल्लङ्घन गर्दै आएका ३१ जना चालकको सवारीचालक अनुमतिपत्र ९लाइसेन्स० निलम्बन गर्न सिफारिस गरिएको छ । काठमाडौं उपत्यका ट्राफिक कार्यालयले पटक–पटक कारबाहीमा पर्दासमेत नियम उल्लङ्घन दोहोर्याएको पाइएपछि ती चालकको लाइसेन्स ६ महिनाका लागि निलम्बन गर्न यातायात व्यवस्था विभागलाई पत्र पठाएको जनाएको छ ।
कार्यालयका प्रमुख नवराज अधिकारीका अनुसार केही चालकले १६ पटकसम्म ट्राफिक नियम उल्लङ्घन गरेको अभिलेख भेटिएपछि कडा कारबाही प्रक्रिया अघि बढाइएको हो । सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अनुसार पाँच पटकभन्दा बढी ट्राफिक नियम उल्लङ्घन गर्ने चालकको लाइसेन्स छ महिनासम्म निलम्बन गर्न सकिने कानुनी व्यवस्था छ । सोही प्रावधानअनुसार ट्राफिक प्रहरीले कारबाही सिफारिस गरेको जनाएको छ ।
ट्राफिक प्रहरीका अनुसार केवल जरिवाना मात्रै गर्दा नियम उल्लङ्घन गर्ने प्रवृत्तिमा कमी नआएकाले अब लाइसेन्स निलम्बनजस्तो कडा उपाय अपनाइएको हो । निलम्बनमा परेका चालकले आगामी ६ महिनासम्म कुनै पनि सवारी साधन चलाउन नपाउनेछन् । प्रहरीले यस्तो कदमले उपत्यकामा ट्राफिक अनुशासन कायम गर्न तथा सडक दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ ।




