काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले सरकारले सुकुम्बासी बस्तीमाथि बर्बरतापूर्ण हमला गरेको आरोप लगाउँदै त्यसको प्रतिवादमा उत्रिन पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् ।
शुक्रवार सानेपास्थित पार्टी मुख्यालयमा आयोजित ‘नेपालमा भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको अवस्थाः डोजर आतंक र सुकुम्बासी पीडा’ विषयक कार्यक्रममा बोल्दै उनले यस्तो निर्देशन दिएका हुन् ।
सभापति थापाले संघीय, प्रदेश तथा स्थानीय तहमा रहेका पार्टीका जनप्रतिनिधि र नेता–कार्यकर्तालाई सरकारको उक्त कदमविरुद्ध आवाज उठाउन आग्रह गरे । उनले राज्य सञ्चालनमा करुणा र संवेदनशीलता आवश्यक पर्ने उल्लेख गर्दै वर्तमान सरकार क्रूरता र बर्बरतामा समेत सहज महसुस गरिरहेको टिप्पणी गरे ।
“अहिले सत्तामा बसिरहनुभएका साथीहरूको जुन क्रूरता र बर्बरता छ, त्यो पछाडि पनि कम्फर्टेबल फिल गर्ने प्रवृत्ति मैले विगतमा देखेको थिइनँ,” उनले भने, “राज्य चलाउँदा जति कठोर निर्णय लिनुपरे पनि शासकमा करुणा हुनुपर्छ ।”
उनले सुकुम्बासी बस्तीमा बल प्रयोग गर्दा नागरिकको पीडा र मानवीय पक्षलाई बेवास्ता गरिएको भन्दै असन्तुष्टि व्यक्त गरे । कानून कार्यान्वयनका क्रममा बल प्रयोग अन्तिम विकल्प हुनुपर्ने र त्यसक्रममा पनि नागरिकको अवस्था तथा संवेदनशीलतालाई ध्यान दिनुपर्ने उनको भनाइ थियो ।
सभापति थापाले नेपाली काँग्रेस अहिले संघीय सरकारमा प्रतिपक्षको भूमिकामा रहेको उल्लेख गर्दै तथ्य र प्रमाणसहित संसदमा सशक्त रूपमा आवाज उठाउन पार्टी सांसदहरूलाई आग्रह गरे । साथै काँग्रेस नेतृत्वमा रहेका प्रदेश र स्थानीय सरकारलाई पनि सुकुम्बासीको पक्षमा काम गर्न ध्यानाकर्षण गराए ।




